मुम्बई(एजेन्सी) । फिल्म ‘बाहुबली’ सिरिजका निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ यसको घोषणादेखि रिलिज मितिसम्म आइपुग्दा फिल्म हेर्न फ्यानहरु व्यग्र प्रतिक्षामा छन् । यो फिल्म यसै वर्षको जुलाईमा रिलिज गर्ने तयारी भइरहे पनि कोरोना भाइरसको महामारीका कारण सन् २०२१ को जनवरी पु¥याइएको थियो । अब अहिले पुनः यो मितिबाट फिल्मलाई सारिएको छ । जसलाई निर्माण पक्षले कोरोना भाइरसकै कारण भनेको छ ।
निर्देशक राजामौलीले राम चरण र जुनियर एनटीआर अभिनित फिल्मलाई प्रमुख निर्माण समूहसँग छलफल पछि कहिले रिलिज गर्ने भन्ने निर्णय गर्ने बताए । ‘लकडाउनको अवधिमा मानिसहरु अनलाइन कन्टेन्ट र वेभ सिरिजमा बढी चासो दिइरहेका छन् । यस्तो अवस्थामा हामीले अनलाइन प्लेटफर्मका भन्दा अलिक फरक कन्टेन्ट दर्शकलाई दिनसक्नुपर्छ’, उनले भनेका छन्, ‘अनलाइन प्लेटफर्ममा अन्तर्राष्ट्रिय भाषाका थुप्रै फिल्म उपलब्ध छन् । दर्शकहरुले पनि खोजमूलक कन्टेन्ट खोजिरहेका छन् । त्यसकारण तेलुगू फिल्मकर्मीहरुले चाखलाग्दो कन्टेन्टमा ध्यान दिने समय आएको छ ।’
यो फिल्ममा आलिया भट्ट र अजय देवगण विशेष भूमिकामा छन् । फिल्म झन्डै तीन सय करोडको लागतमा बनेको छ । यो फिल्मले ‘बाहुबली २’को प्रि बिजनेस रेकर्डलाई तोड्ने अनुमान गरिएको छ । यो फिल्मले आफ्नै सबै अधिकार चार सय करोडमा बेचिसकेको छ । यसमा दक्षिण भारत र विदेशको बजार पनि जोडिएको छ ।