सलमानमाथि खनिए ट्वीटर प्रयोगकर्ता

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याले बलिउडमा नातावादको बहस पुनः शुरु भएको छ । बलिउडका फिल्मकर्मीहरुले बलिउडमा आफ्नो वर्चस्व कायम गरेका व्यक्तिहरुको गलत व्यवहारका कारण सुशान्तले आत्महत्या गरेको आरोप लगाएका छन् । सुशान्तको आत्महत्या पछि मानिसहरु ट्वीटरमा ठूला ठूला स्टारलाई निशाना बनाइरहेका छन् ।

यतिबेला ट्वीटर प्रयोगकर्ताहरु आफ्नो रिस अभिनेता सलमान खानमाथि आफ्नो रिस थोपरिरहेका छन् । प्रयोगकर्ताले सलमानले आफूलाई मननपर्ने कलाकारको करियर खत्तम गर्ने आरोप लगाएका छन् । उनीहरुले सलमानले ऐश्वर्या राय बच्चन, विवेक ओबरोय र अरिजीत सिंहको करियर सिध्याउने कोशिस गरेको र जसकारण उनीहरुले ठूलो समस्या भोग्नुपरेको दाबी गरेका छन् ।

एक प्रयोगकर्ताले अरिजीत सिंहको वर्षौ पुरानो फेसबुक पोस्ट शेयर गर्दै सलमानमाथि आक्रोश पोखेका छन् । उनले ‘तिमीले ऐश्वर्या, विवेक, अरिजीत र कति धेरै कलाकारको करियर बिगारिदियौ । तिमीले सुशान्तलाई पनि प्रतिबन्ध लगाएका थियौं । यो अरिजीतको वर्षौ पुरानो पोस्ट हो’ भन्दै लेखेका छन् ।

फ्यानसँगै बलिउड फिल्मसँग जोडिएका मानिसहरु पनि ठूलो स्टारका व्यवहारलाई सामाजिक सन्जालमार्फत सार्वजनिक गरिरहेका छन् । फिल्म ‘दबंग’का निर्देशक अभिनव सिन्हाले आफ्नो लामो पोस्टमा सलमानको परिवारमाथि आफ्नो करियर सिध्याएको आरोप लगाएका छन् । उनले फिल्म ‘दबंग’ पछि खान परिवारले आफूलाई निकै तनाव दिएको बताएका छन् ।