काठमाडौं । लकडाउनपछिको जनजीवन र बजार केही खुकुलो भएसँगै नेपालयले छापिएर तयार भएका नयाँ पुस्तकलाई सिधै बिक्रीमा पठाउने निर्णय गरेको छ । लकडाउनको गाम्भीर्यता सहजतातिर उन्मुख भएसँगै नेपालयले भुवन ढुंगानाद्वारा लिखित आख्यान ‘परित्यक्ता’लाई सिधै बजारमा उपलब्ध गराएर आफ्नो कामको थालनी गर्ने भएको छ ।
‘बजार केही खुकुलो भएसँगै, केही चहलपहल हुनु स्वभाविक हो, त्यसैले हाम्रा प्रकाशित पुस्तकका बारेमा प्रशस्त जिज्ञासाहरू आइरहेका छन् । अहिले व्याप्त एक्लो बसाइले पाठकमा पढ्ने भोक पनि अवस्यै बढेको हुनुपर्छ,’ पब्लिकेसन नेपालयकी सैजन मास्केले भनिन ‘त्यसैले लकडाउनपछिको पहिलो चरणमा हामीले ‘परित्यक्ता’ पुस्तकलाई भौतिक रुपमै बजारमा वितरण गर्ने निर्णय गरेका छौं । यो किताब गतवर्ष नै प्रकाशित भएको हो तर महामारीका कारणले सार्वजनिक हुन पाएको थिएन ।’
परित्यक्ता एकालाप शैलीमा बाधिएको कृति हो । यस पुस्तकमा एउटी महिलाको अन्तर चेतनाको परिदृश्यलाई उजागर गरिएको छस जसले एउटी छोरी, प्रिया, पत्नी अनि आमाको बहुआयामिक भूमिकामा अभिनय गर्दै बाँचेकी हुन्छे र पनि निरन्तर एकाकीपनको भावमा ठोक्किँदै बगेको झरना जस्तै हुन्छे । पुस्तकले एउटी महिला जो वास्तवमा समाजद्वारा तोकिएको भूमिकामा मात्र समाहित हुन बाध्य छेस समाजमा उसको निजत्वको पनि कुनै भूमिका छ कि छैन भन्ने प्रश्न गर्दछ । यो कृतिले महिलाले आफ्ना उद्देश्यलाई आफैंले पूरा गर्ने यत्न गर्नुपर्छ भन्नेतर्फ संकेत गर्छ ।
सन् १९७० ताकाको नामी साहित्यिक पत्रिका मधुपर्कबाट कथा लेखनमा प्रवेश गरेकी भुवन ढुंगानाको यो पहिलो उपन्यास हो । ढुंगानाले विश्वभारती महाविद्यालय (जसलाई अहिले शान्ति निकेतनको नामले पनि चिनिन्छ) बाट शास्त्रीय नृत्यमा स्तानक गर्नुका साथै त्रिभूवन विश्वविद्यालयबाट अँग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी छन् । उनका ‘धर्म बिम्ब’ र ‘युद्धको घोषणा अघि’ शीर्षकका कथा सँग्रहहरू प्रकाशित छन् । ढुंगाना विपि कोइराला साहित्यिक सम्मान लगायत विभिन्न पुरस्कारबाट अलंकृत भइसकेकी छिन् । पुस्तकको मूल्य २ सय ७५ रुपैंयाँ छ ।