आलियाको सडक २ को विरोध

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री आलिया भट्टको फिल्म ‘सडक २’ अगष्ट २८ मा डिज्नी हटस्टारमा रिलिज हुँदैछ । निर्देशक महेश भट्टकी छोरी आलिया बलिउडमा छोटो समयमै स्थापित अभिनेत्री हुन् । उनको फ्यान फलोइङ पनि उत्तिकै धेरै छ ।

तर आलियाको लागि अब अवस्था सधैं जस्तो रहेन । अहिलेको माहोल आलियाका लागि अनुकुल देखिएको छैन । अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या पछि चर्किएको नेपोटिज्मको विवादका कारण स्टारका सन्तानको फिल्म नहेर्न बहस चलिरहेको छ ।

अहिले महेश भट्टको फिल्म ‘सडक २’मा यस्तै देखिएको छ । आइतबार आलियाले सामाजिक सन्जालमा फिल्मको पोस्टर सार्वजनिक गरिन् । फिल्मको पोस्टर सार्वजनिक हुनासाथ फिल्मलाई बहिस्कार गर्ने अभियान शुरु भएको छ । नेपोटिज्मको बहानामा अहिले जोकोहीले पनि आलिया माथि निशाना लगाइरहेका छन् र उनको फिल्म फ्लप हुने दाबी गरिरहेका छन् ।

‘सडक २ दर्शकलाई मननपर्ने फिल्म बनोस् भन्ने प्रयासमा हामी लागि परेका छौ’, एक प्रयोगकर्ताले लेखेका छन् । अर्का प्रयोगकर्ताले ‘सडक २’को ट्रेलर सबैभन्दा ठूलो फ्लप हुने दाबी गरेका छन् ।

निर्देशक महेश २१ वर्ष पछि फिल्म निर्देशनमा फर्किएका छन् । नेपोटिज्मको बहस भइरहेका बेला रिलिज हुन लागेको फिल्मले के कस्तो व्यापार गर्ला भन्ने चासो बलिउडमा छ ।