जसले क्यान्सरलाई जिते

मुम्बई(एजेन्सी) । बलिउडको पाना पल्टाउने हो भने यो उद्योगका कैयौं स्टारहरुले ठूलो समस्याको सामना गरेका छन् । यसमा केही अभिनेता अभिनेत्री संघर्षको समयमा आर्थिक संकटमा परेका थिए भने केही अभिनेता अभिनेत्रीहरुले आफ्नो विल पावरले खतरनाक रोगलाई पनि घुँडा टेकाएका छन् ।

अभिनेत्री सोनाली बेन्द्रेको क्यान्सरसँगको युद्धले सबैलाई चकित बनाइदिएको छ । सोनालीले जुन किसिमले क्यान्सरका विरुद्ध लडाईं लडिन्, उनको कामको सबैले प्रशंसा गरेका थिए । ‘हम साथ साथ है’, ‘सरफरोश’ जस्ता फिल्ममा दमदार अभिनय गरेकी सोनालीलाई मेटास्टिेटिक क्यान्सर भएको थियो । न्यूयोर्कमा गरिएको लामो समयको उपचारले उनलाई क्यान्सरलाई मात खुवाइन् । उनले सामाजिक सन्जालमा क्यान्सर उपचार गर्दा कपाल मुण्डन गरेको तस्बिर शेयर गरेकी थिइन् ।

ताहिरा कश्यप बलिउड अभिनेता आयुष्मान खुरानाकी पत्नी हुन् । ताहिराले जहिल्यै आफ्नो रोगका बारेमा सबैसँग खुलेर कुरा गरिन् । आम मानिसहरुले आफ्ना रोगलाई लुकाउने गरे पनि ताहिरा भने यो मामलामा फरक थिइन् । उनले आफूलाई कुन रोग लागेको हो प्रष्ट बताउथिइन् । उनलाई ब्रेष्ट क्यान्सर भएको थियो ।
बलिउडमा ‘दिल से’, ‘बम्बे’, ‘१९४२ः अ लव स्टोरी’ जस्ता फिल्मबाट आफ्नो विशेष पहिचान बनाएकी अभिनेत्री तथा नेपाली चेली मनिषा कोइराला पनि क्यान्सरलाई जितेकी अभिनेत्री हुन् । सन् २०१२ ओवेरियन क्यान्सर भएकी मनिषाले एक पुस्तक पनि लेखेकी छिन् ।

फिल्म निर्माता तथा निर्देशक राकेश रोशनले पनि क्यान्सरको युद्ध लडिसकेका छन् । राकेशका छोरा ऋतिकले नै आफ्नो बुवालाई क्यान्सर भएको जानकारी दिएका हुन् । ऋतिकले यो जानकारी दिँदा सबै चकित भएका थिए । थ्रोट क्यान्सरलाई मात खुवाएका राकेश अहिले ठिक छन् । फिल्म निर्माता तथा निर्देशक अनुराग बसुलाई सन् २००४ मा ल्यूकीमिया क्यान्सर भएको थियो । ल्यूकीमिया भनेको रगत या बोनम्यारो क्यान्सर हो । अनुरागको अवस्था निकै खराब थियो र चिकित्सकले उनलाई क्रिटिकल केस भनेका थिए । तर पनि अनुरागले यो क्यान्सरलाई जिते ।