फिल्मतिर धोनी नजर

मुम्बई(एजेन्सी) । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले आफ्नो अन्तर्राष्ट्रिय करियरमा बिराम लगाए । यद्यपि धोनीले इण्डियन प्रिमियर लिग(आइपीएल)मा चेन्नई सुपर किंग्सबाट क्रिकेट भने खेल्नेछन् । धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिएको सन्यासपछि अब उनी के गर्छन् भन्ने अनेक अड्कलबाजी शुरु भइसकेको छ । भारतीय जनता पार्टी(भाजपा) नेता सुब्रमण्यम स्वामीले उनलाई लोकसभाको चुनाव लड्न प्रस्ताव राखेका छन् । तर कतिपयले धोनी अब फिल्म क्षेत्रमा आउने अनुमान गरेका छन् ।

समाचार अनुसार धोनी अभिनेताका रुपमा नभई निर्माताका रुपमा फिल्म क्षेत्रमा आउन चाहन्छन् । धोनी अहिले यस्ता केही प्रोजेक्टमा काम गरिरहेका छन्, जसमा उनी फिल्म उद्योगका कर्पोरेट घरानासँग मिलेर काम गर्न चाहन्छन् ।

‘फिल्ममा धोनी जहिल्यै दिलचस्पी छन् । जब नीरज पाण्डेले बायोपिक ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ बनाए, त्यो समयमा क्रिकेटर धोनीले मनोरन्जन उद्योगलाई नजिकबाट हेर्ने मौका पाए । धोनीलाई यो कुरा मनपरेको थियो । त्यही कारण उनी उपयुक्र्त समयको पर्खाइमा थिए । तर हालसम्म धोनीले यो विषयमा केही बोलेका छैनन्’, धोनी निकट स्रोतले भन्यो ।

धोनीको बायोपिकमा दिवंगत अभिनेता सुशान्त सिंह राजपूतले प्रमुख भूमिका निभाएका थिए । फिल्म बक्सअफिसमा सफल बन्यो ।