सुशान्त मामलाको सीबीआईले अनुसन्धान गर्ने

मुम्बई(एजेन्सी) । भारतीय उच्च अदालतले सीबीआईलाई अभिनेता सुशान्त सिंह राजपूत मामलाको अनुसन्धान गर्न आदेश दिएको छ । अदालतले बुधबार रिया चक्रवर्तीको निवेदनमा सुनुवाई गर्दै बिहार सरकारलाई सीबीआईसँग घटनाको जाँचको माग गर्नु उचित रहेको बताएको हो । फैसला सुनाउँदै न्यायधिस ऋषिकेश रोयले पटनामा एफआईआर दर्ता हुनु पनि कानूनी रुपले सही भएको बताए ।

सुशान्तकी बहिनी स्वेताले उच्च अदालतको फैसलामाथि खुशी व्यक्ति गरेकी छन् । उनले ‘आखिरीमा सुशान्तका लागि सीबीआई’ लेखेकी छन् । बिहारका डीजीपी गुप्तेश्वर पाण्डेले उच्च अदालतको फैसलामा खुशी व्यक्त गरेका छन् । ‘उच्च अदालतको फैसलाले यो देखाएको छ कि बिहार प्रहरी सही थियो । म धेरै खुशी छु । उच्च अदालतको आजको फैसलाले मानिसहरुलाई एउटा भरोसा बढाएको छ कि न्याय मिल्छ भनेर । मुम्बई प्रहरीले जुन किसिमले यो सबै काम गरेको थियो, यो गैर कानूनी थियो’, उनले भनेका छन् ।

सुशान्तका पिताका वकिल विकास सिंहले अदालतको फैसला परिवारको जीत भएको बताए । उनले उच्च अदालतले गरेको निर्णय परिवारको पक्षमा रहेको दाबी गरे । रिया चक्रवर्तीले पटनामा दर्ता भएको मुद्धालाई मुम्बई ट्रान्सफर गर्न अपिल गरेकी थिइन् । रियाले उच्च अदालतलाई सुशान्तको मृत्युको अनुसन्धान मुम्बई प्रहरीले पहिलेदेखि नै गरिरहेको र आफूले बयान पनि प्रहरीमा दर्ता गराएको बताएकी थिइन् ।

रिया आफूलाई सुशान्तको प्रेमिका बताउँछिन् । तर सुशान्तका पिताले छोराको मृत्युको कारण रिया नै हो भन्दै आएका छन् । सुशान्तका पिताले २५ जुलाईमा पटनाको राजीव नगर थानामा रियाको विरुद्ध एफआईआर दर्ता गराएका थिए । बलिउडका युवा अभिनेता सुशान्तको शव जून १४ मा मुम्बईको बान्द्रास्थित घरमा भेटिएको थियो । उनको परिवारले सुशान्तको कथित प्रेमिका रियाले सुशान्तलाई आत्महत्या गर्न उक्साएको आरोप लगाउँदै आएको छ ।