रगत अभावमा लायन्सको रक्तदान

काठमाडौं । कोरोना सँक्रमणसँगै विरामी बढेपछि अहिले मुलुक भरका अस्पतालमा बिरामीको लागि रगतको अभाव छ । सोही कारण विभिन्न सामाजिक संस्थाहरुले अहिले रक्तदान कार्यक्रमलाई महत्व दिएका छन् । यसै क्रममा लायन्स क्लब अफ काठमाडौं शुभले शनिबार अपरान्ह काठमाडौंको सामाखुसीमा रक्तदान कार्यक्रम आयोजना गर्यो । लायन्स क्लब अफ काठमाडौं शुभका अध्यक्ष तथा कलाकार मोडल प्रकाश शाहको अध्यक्षतामा सो रक्तदान कार्यक्रम सम्पन्न भयो । कोरोना बिरुद्ध पूर्णरुपमा सचेतना अपनाउँदै सामाजिक दुरी कायम गरेर कार्यक्रममा रक्तदान गरिएको थियो । सो क्रममा ४८ जनाले रक्तदान गरेका छन् ।

काठमाडौंमा रगतको अभाव भएर रेडक्रसबाट रक्तदानको लागि अनुरोध आएपछि आफुहरुले छोटो तयारीमै निषेधाज्ञाको बिचमा पनि रक्तदान कार्यक्रम राख्नु परेको अध्यक्ष प्रकाश शाहले बताए ।कार्यक्रममा कोरियोग्राफर माईकल चन्द लगायत विभिन्न मोडलहरु पनि सहभागी थिए । एलसिआईएफ एरिया लिडर बालकृष्ण बुर्लाकोटी प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक गभर्नर मनबहादुर रोकायको सहभागिता रहेको थियो ।

सो रक्तदान कार्यक्रमको संयोजन लायन्स क्बल रक्तसञ्चार विभाग प्रमुख लायन शिबराम गौतमको सक्रिय सहयोगमा सम्पन्न भएको थियो । यस्तै लायन्स क्लब अफ काठमाडौं सगुनका क्लस्टर चिफ सुधा थापालगायतले रक्तदान कार्यक्रमलाई सम्पन्न गर्न सहयोग पुर्याएको पनि आयोजक संस्थाका अध्यक्ष प्रकाश शाहले जानकारी गराए ।