लागुऔषध मामलामा सुशान्तकी प्रेमिका रिया गिरफ्तार

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले गिरफ्तार गरेको छ । अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यामा लागुऔषध पनि जोडिएपछि केही दिनदेखि एनसीबीले रियासँग सोधपुछ गरिरहेको थियो । रियाको भाई शौविक चक्रवर्तीलाई एनसीबीले यसअघि नै गिरफ्तार गरिसकेको छ ।

रिया गिरफ्तारीको पुष्टि ब्युरोका कार्यकारी निर्देशक केपीएस मल्होत्राले गरेका छन् । गत सेप्टेम्बर ५ मा शौविक र सुशान्तका मेनेजर भइसकिेका सेमुएल मिराण्डालाई एनसीबीको टिमले गिरफ्तार गरेको थियो । सुशान्तको मृत्युको मामलामा यो तेस्रो गिरफ्तारी हो ।

सुशान्तको मृत्युको मामलालाई सीबीआईले जाँच गरिरहेको छ । तर यो गिरफ्तारी एनसीबीले लागु औषको लेनदेनको मामलामा गरेको हो । सीबीआईको अनुसन्धानमै लागु औषधको कारोबारसँग जोडिएको केही नाम सार्वजनिक भएको थियो । त्यसपछि एनसीबीले मामलाको जाँच शुरु गरेको हो ।

एनसीबीले घटनासँग जोडिएसँगै पहिला लागु औषधको कारोबारसँग जोडिएका केही व्यक्तिसँग सोधपुछ गरेको थियो र केहीलाई हिरासतमा लिएको हो । सुशान्तको मृत्युको जाँच तीन केन्द्रीय जाँच एजेन्सीले गरिरहेको छ । पैसाको लेनदेनको मामलालाई इडी, मृत्युको मामला सीबीआई र लागु औषधको मामलामा एनबीसीले जाँच गरिरहेको छ ।