पाँच शर्तमा रिहा भइन् रिया

मुम्बई(एजेन्सी) । झन्डै एक महिनासम्म जेलमा रहेकी बलिउड अभिनेत्री रिया चक्रवर्तीले लागुऔषध मामलामा जमानतमा रिहा भएकी छन् । बम्बई उच्च अदालतले रियाको जमानत निवेदनमाथि सुनुवाई गर्दै उनलाई रिहाको आदेश दिएको हो । तर अदालतले रियाको भाइ शौविक चक्रवर्ती, अब्दुल बासित परिहार, दीपेश सावंत र सैमुअल मिराण्डाको जमानत निवेदन भने खारेज गरिदिएको छ । अदालतले रियालाई पाँच वटा शर्तमा जमानतामा रिहा गरेको हो ।

ती पाँच शर्त अनुसार पहिलो शर्तमा रियाले आफ्नो पासपोर्ट अदालतलाई दिनुपर्ने हुन्छ र देशबाहिर जानका लागि अदालतको अनुमति लिनुपर्नेछ । त्यस्तै दोस्रो शर्तमा रियाले आगामी १० दिनसम्म प्रहरीको तारेख दिनुपर्नेछ र एनसिबीले बोलाएको खण्डमा उनले उपस्थिति जनाउनुपर्नेछ ।

तेस्रो शर्तमा जमानतका लागि रियाले १ लाख रुपैंयाँ धरौटी दिनुपर्ने हुन्छ । जुन कुरा उनले पालन गरे र रिहा भएकी छन् । चौथो शर्तमा रियाले यो मामला चलुन्जेलसम्म देशबाहिर जान पाउदिनन् । पाँचौं शर्तमा उनले अन्य आरोपीसँग भेटघाट गर्न पाउने छैनन् ।