खुशी साट्न मोफसलमा कान्छी युनिट

काठमाडौं । गत फागुन ४ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको नायिका तथा निर्मात्री श्वेता खड्काको फिल्म ‘कान्छी’ले यो शुक्रबारबाट दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो साताबाट अपेक्षित व्यापार गरेको फिल्मले दोस्रो सातामा पनि आफ्नो व्यापारको अनुपातलाई कायमै राखेको छ । यही माहौलमा फिल्म युनिट यतिबेला मोफसलका सहरको यात्रामा निस्किएको छ ।

नायिका तथा निर्मात्री श्वेता, नायक विनोद न्यौपाने र कलाकार दिलिप पन्त हेटौंडा, चितवन र बुटवलको यात्रामा निस्किएका छन् । ‘हामी खुसी साट्न मोफसल निस्किएका हौं,’श्वेताले भनिन्, ‘कान्छीलाई राजधानीसँगै मोफसलका दर्शकले पनि राम्रो साथ दिनु भएको छ । उहाँहरुलाई धन्यवाद दिन हाम्रो युनिट मोफसलका मुख्य शहरमा निस्किएको हो ।’ निर्देशक आकाश अधिकारी र अभिनेता दयाहाङ राई व्यस्तताका कारण मोफसल जान नपाएको उनले बताइन् ।

रिलिज पुर्व नै लगानी सुरक्षित गरेको फिल्मले सार्वजनिक प्रदर्शनीबाट सोचे भन्दा राम्रो दर्शकको साथ पाइरहेको स्वेताको दाबी छ । फिल्ममा स्वेता र दयाहाङसँगै आशान्त शर्मा, कामेश्वर चौरासिया, अनु शाह, भूमिका श्रेष्ठ, नीर शाहलगायतका कलाकारको अभिनय छ ।