सिनेमाघर एपमा प्रेमगञ्ज रिलिज

काठमाडौँ । ओटीटी प्लेटफर्म सिनेमाघर एपमा नयाँ बर्षको अवसर पारेर नेपाली फिल्म ‘प्रेमगञ्ज’ रिलिज भएको छ। मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन लगायत सम्पूर्ण स्मार्ट डिभाइसहरुमा विश्वभरबाट हेर्न सकिने गरी यो फिल्म रिलिज भएको हो ।

फिल्म हलहरुमा भने यो फिल्म गत भाद्र ३ गते रिलिज भएको थियो । परिच्छेद सेनले निर्देशन गरेको यो फिल्मले हल रिलिजबाट समिक्षात्मक रुपमा प्रशंसा पाएको थियो ।

सिनेमाघर एपमा रिलिज भएपछि निर्देशक सेन भन्छन्, ‘प्रेमगञ्ज सिनेमा हलहरुमा जतिले हेर्नू भयो निराश हुनुभएको थिएन । ओटीटीमा पनि यो फिल्मले दर्शकको मन जित्छ भन्नेमा विश्वस्त छु ।’ निर्देशक सेनले थोरै नै भएपनि शुल्क तिरेर फिल्म हेर्नुपर्छ भन्ने बानीको विकास गराउनको लागि निशुल्क हेर्न पाईने युट्युबमा प्रेमगञ्ज नराख्ने बताए ।

यो प्रेमकथामा आधारित फिल्म हो । यो फिल्मले दुई कालखण्डको प्रेमकथा भन्छ । ‘जो जीवनमा छ, ऊ मनमा छैन । जो मनमा छ, ऊ जीवनमा छैन’ भन्ने ट्यागलाईनमा बसेर फिल्मको कथा बुनिएको छ ।

फिल्ममा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ, राईडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्का लगायतको अभिनय रहेको छ । चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता राजु फुयाँल हुन् ।