काठमाडौं । अभिनेत्री पूजा शर्मालाई रोएर फिल्म चलाउने नायिकाको आरोप लाग्ने गरेको छ । उनलाई आरोप नलागोस् पनि किन, उनले अभिनय गरेका पछिल्ला केही फिल्मलाई हेर्ने हो भने यो आरोप सही साबित भइसकेको छ ।
तर अब पूजा भने यो आरोपबाट मुक्त हुन चाहेको देखिएको छ । उनी निर्माता र नायिका रहेको फिल्म ‘रावायण’को टिजर सार्वजनिक कार्यक्रममा शुक्रबार सञ्चारकर्मी र पत्रकार माझ रोएर फिल्म नचल्नेमा आफू ढुक्क रहेको बताइन् । ‘अब रोएर फिल्म चल्दैन । टिमको राम्रो साथ पाइयो भने मात्र फिल्म चल्ने रहेछ’, उनले भनिन् ।
आगामी भदौ २१ गतेबाट रिलिज हुने फिल्मको टिजरमा फिल्मका नायक पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ । टिजरमा अधिकांश दृश्यमा द्वन्द्वलाई स्थान दिइएको छ । दाह्री र जुँगाको गेटअपमा देखिएका पलले खलपात्रसँग गरेको द्वन्द्वलाई टिजरमा प्राथमिकतामा राखिएको छ ।
फिल्ममा भिलेन चरित्रमा देखिएका प्रमोद अग्रहरि, प्रकाश शाह, प्रदीप ढकाललाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको छ । टिजरमा नायिका पुजा शर्मा, प्रियंका कार्की, निकिता चण्डक पनि फिचर्ड छन् ।
प्रेमकथाका फिल्म निर्माणमा अब्बल मानिएका निर्देशक सुदर्शन थापा फिल्म ‘रावायण’का निर्देशक हुन् । उनले आफूले जति बोले पनि आफ्नो ‘भिजन’ फिल्मको टिजरमा देखिएको बताए । ‘अहिले टिजरमा मात्र देखिएको छ । दर्शकले पछि फिल्ममा अझ बढी हेर्न पाउनुहुनेछ’, उनले भने, ‘यो फिल्म मेरा लागि चुनौतिपूर्ण थियो । मैले यो फिल्ममार्फत आफूलाई परिवर्तन गर्ने कोशिस गरेको छु ।’
नायक पल शाहले आफ्नो रोमान्टिक छविलाई पर्दामा हेरिरहनु भएका दर्शकका लागि ‘रावायण’को चरित्र नयाँ स्वाद हुने बताए । उनले फिल्ममा आफ्नो दोहोरो भूमिका रहेको खुलाए ।
‘मेरो लागि यो चरित्र नयाँ हो । फिल्ममा मैले कान्छा र रागव नामका दुई चरित्र निर्वाह गरेको छु । एउटा चरित्र पोजेटिभ र अर्को नेगेटिभ हुन्छ’, उनले भने, ‘फिल्ममा मेरा लागि नेगेटिभ पार्ट चुनौतिपूर्ण थियो । जुन ट्रेलरमा देखिएको छ ।’
कलाकार प्रमोद अग्रहरिले दर्शकले ‘रावायण’बाट आफ्नो चरित्र र कथावस्तुमा नयाँ स्वाद पाउने दाबी गरे । अर्का कलाकार प्रकाश शाहले आफ्ना लागि फिल्मको पात्र चुनौतीपूर्ण रहेको बताए ।
फिल्मका निर्देशक सुदर्शन थापा हुन् । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।
फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, रोजिता पराजुलीलगायतको अभिनय छ ।
फिल्ममा शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गुञ्जवाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द,विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर र विजय बस्यालको पोस्टर डिजाइन छ ।
फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।