तीन तिघ्रे क्या बिग्रेलाई छायांकनको चटारो

काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ छायांकन तेश्रो सातामा प्रवेश गरेको छ। लेखक तथा निर्देशक अमरदीप सापकोटाको निर्देशनमा निर्माण भइरहेको कमेडी जनरामा आधारित फिल्मको यतिबेला काठमाडौं उपत्यका र आसपासका जिल्लामा छायांकन भइरहेको हो ।

लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय रघुनाथ सापकोटाको निर्माण रहेको फिल्ममा नेपाली लोकसंगीतमा आफ्नो छुट्टै पहिचान बनाएका गायक पशुपति शर्मा, कमेडी च्याम्पियनमार्फत विभिन्न पात्रहरूको उत्कृष्ट नक्कल प्रस्तुत गर्दै दर्शकमाझ लोकप्रिय बनेका प्रभात लामा, गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त, टेलिचलचित्रमार्फत आफ्नो अलग पहिचान बनाएकी समिया कार्की, तथा कमेडी सिरियलमार्फत चर्चामा आएका बेगम नेपाली पनि यस फिल्मबाट प्रमुख भूमिकामा डेब्यु गर्दैछन्।

यी नयाँ अनुहारबाहेक फिल्ममा पृथ्वीराज प्रसाईं, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, वीरबल घले, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, विनोद केसी, लीसा क्षेत्री, सुरेश तिमल्सिना, राजु तिमल्सिना, रमेश बुढाथोकी आयुष्मा गिरी तथा पवन खतिवडा ‘बाबा’ लगायतका कलाकारहरूको अभिनय रहनेछ। फिल्ममा संकल भुजेलको छायांकन छ ।

निरज नेपाल कार्यकारी निर्माता रहेको फिल्ममा सगुन तामाङ मुख्य सहायक निर्देशक छन् भने उत्सव पौडेल, सबिता रेग्मी र धर्मेन्द्र केसी सहायक निर्देशकका रूपमा रहेका छन्। त्यसैगरी गणेश बानियाँ आर्ट निर्देशक, शमशेर लामा मेकअप प्रमुख तथा जीवन पोखरेल भेषभूषा प्रमुखको जिम्मेवारीमा छन्।

फिल्मको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलको छ ।