प्याब्सन मिस लिटिल आइडलको तयारी

काठमाडौं । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त रूपमा आयोजना गर्दै आएको ‘प्याब्सन मिस लिटिल आइडल’को १५औं संस्करण सुरु भएको छ । शैक्षिक कोर्समा नसमेटिएका तर समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिन, छात्राहरूमा निहित क्षमता उजागर गर्न, व्यक्तित्व विकासका साथै नेतृत्वदायी भुमिका निर्वाहका लागि यो प्रतियोगिता हुँदै आयोजकले जनाएको छ ।

प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले सहभागीहरूमा देखिएको प्रतिस्पर्धाको भावना, व्यक्तित्व विकास, छात्राहरूमा निहित क्षमता उजागर एवं सकारात्मक परिवर्तन्का कारण प्याब्सन काठमाडौंले यो प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको बताए ।

प्याब्सन काठमाडौं एवं कार्यक्रमकी सल्लाहकार रीता राई (दाहाल)ले विगतको अनुभव, सहभागी विद्यालय, अभिभावक एवं छात्राहरूबाट प्राप्त सुझावका आधारमा प्रतियोगितालाई समयअनुसार परिमार्जन गर्दै सहभागीहरूलाई दक्ष र उत्कृष्ट बनाइएको बताइन् । त्यसैगरी एक्सन इन्टरटेनमेन्टका अध्यक्ष अशोकप्यासी राईले प्रतियोगितालाई यसपटक नयाँ शैली, प्रविधिमैत्री र रोमाञ्चक बनाइने जानकारी दिए ।

प्याब्सन काठमाडौंका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सूर्य भण्डारीले परम्परागत शिक्षण पद्धतिले मात्र अबका पुस्तालाई नपुग्ने र बदलिँदो समय र प्रविधिसँग नयाँ नयाँ सीप र ज्ञान आवश्यक हुने बताए ।

प्रतियोगिताकी कोच एन्जल राईले सहभागी छात्राहरूमा निहित क्षमता उजागर गरी उनीहरूमा प्रतिस्पर्धाको भावना जागृत गराउने, आत्मविश्वास बढाउने र छात्राहरूमा निहित क्षमता पहिचान गरी सोहीअनुसार अगाडि बढ्न प्रेरित गरिने जानकारी दिइन् ।

यस प्रतियोगितामा सहभागी हुन अभिभावको अनुमति एवं विद्यालयको सिफारिस अनिवार्य गरिएको छ । प्रतियोगितामा कक्षा चारदेखि कक्षा आठसम्म अध्ययनरत ८ देखि १३ वर्ष उमेरसमुहका छात्राहरूलाई सहभागी गराइँदै आएको छ । आवेदन दिनेमध्ये ‘पहिले आउने’ आधारमा बढीमा ७० जना छात्रालाई अन्तिम प्रतिस्पर्धामा सहभागी गराइने आयोजकले जनाएको छ । प्रतियोगीहरूलाई कोरियोग्राफर रोजिन शाक्य र कोच एन्जल राईले तीन साता प्रशिक्षण दिनुहुनेछ भने अन्य विभिन्न विधाका विशेषज्ञ, पूर्वविजेता, सहभागी, सेलिब्रेटीहरूसँग साक्षत्कार पनि गराइँदै आएको छ ।

यस पटक प्रतियोगीहरूलाई २०८३ भदौ ६ गतेदेखि प्रशिक्षण सुरु गरी भदौ २७ गते अन्तिम प्रतिस्पर्धा गराइनेछ । प्याब्सन मिस लिटिल आइडलको यो १५औंं संस्करण हो । प्रतियोगिताको शीर्ष उपाधि विजेता, फस्ट र सेकेन्ड रनरअपलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र, उपहार एवं ट्रफी प्रदान गरिनेछ । त्यसैगरी मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि विजेतालाई जनही १५ हजार रुपैयाँ पुरस्कार एवं सहभागी सबै छात्राहरूलाई प्रमाणपत्र, उपहार एवं ट्रफीसहित सम्मान प्रदान गरिने छ ।