काठमाडौं । निर्देशक सौरभ चौधरीको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता सौगात मल्ल अनुबन्ध भएका छन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको गत सोमबार मात्रै थिम पोस्टर सार्वजनिक गरेको थियो । सौगात र सौरभले यसअघि ‘अगस्त्यः च्याप्टर १’ मा एकसाथ काम गरिसकेका छन् ।
‘हामीले पहिलो कलाकारका रूपमा सौगात मल्ललाई भित्र्याएका छौँ । उहाँ जस्तो अभिनयमा अब्बल कलाकार नै यो कथाको माग हो । अन्य कलाकारहरूको छनोट प्रक्रिया जारी छ, जसको जानकारी हामी केही दिनमा सार्वजनिक गर्नेछौँ ।’ निर्देशक सौरभले भने । सौरभका अनुसार फिल्ममा सौगातले २५ वर्षको जवानदेखि ८० वर्षको वृद्धसम्मको जीवन यात्रालाई चित्रण गर्नेछन् ।
फिल्मको कथा र पटकथा बुद्धिसागरले लेखेका हुन् । फिल्मको छायांकन आगामी भदौ पहिलो साताबाट सुरु हुनेछ । निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ ।
फिल्मको निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् । मानकृष्ण महर्जनको डीओपी रहने यो फिल्मको एक्सन डिरेक्टरमा श्री श्रेष्ठ छन् । डिजिटल पाटर्नरमा ओएसआर डिजिटल रहेको छ भने वितरकमा डिसीएन रहेको छ ।





