सुपर कमेडी लिगमा राजेश हमाल लिग प्रेसिडेन्ट

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर कमेडी लिग’को औपचारिक घोषणा गरिएको छ। ओपन डोर्स इन्टरटेन्मेन्टले निर्माण गर्ने उक्त कार्यक्रमको आइतबार ललितपुर चाकुपाटस्थित इन्ट्रन्स क्याफेमा घोषणा गरिएको हो ।

हास्य–व्यङ्ग्यमा आधारित यस रियालिटी शोमा महानायक राजेश हमाल लिग प्रेसिडेन्टको भूमिकामा देखिँदैछन् । शोमा कलाकारहरू विल्सन बिक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्त क्याप्टेन तथा मेन्टरका रूपमा रहेका छन् ।

कार्यक्रमका लागि साउन २९ गते दमकस्थित कदम थिएटर, साउन ३१ गते नारायणगढस्थित राइनो वाटर होटेल, भदौ २ गते नेपालगन्जस्थित सिद्धार्थ होटल, भदौ ४ गते पोखरास्थित पोखरा थिएटर र भदौ ६ गते काठमाडौँमा अडिसन सञ्चालन हुनेछ। अडिसनबाट छनोट हुने ३२ जना प्रतिस्पर्धीलाई चार समूहमा विभाजन गरिने र ८ जनाको उक्त समूहको नेतृत्व ४ जना क्याप्टेनहरुले गर्नेछन्।

सुपर कमेडी लिग मूलतः समूहमा आधारित ढाँचामा प्रतिस्पर्धा हुने कार्यक्रम भएकोले एउटा स्क्रिप्टमा कम्तीमा दुई जना तथा आवश्यकता अनुसार सो भन्दा बढी प्रतिस्पर्धीले संयुक्त रूपमा प्रस्तुति दिनेछन्। पूर्वनिर्धारित विषय तथा थिममा आधारित प्रस्तुतिहरू मुख्यतः स्केच, स्किट तथा ड्रामेडी (ड्रामा कमेडी) लगायतका शैलीमा प्रस्तुति तयार गरिनेछ ।

शोका निर्देशक एलिन श्रेष्ठले प्रतिभाशाली कलाकारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शनका लागि अवसर प्रदान गर्ने उद्देश्यसहित कार्यक्रम निर्माण गर्न लागिएको बताए । एलिनसँग नेपाल आइडल, सारेगम लिल च्याम्प्स, बुगि बुगि, मेरो भोइस युनिभर्स र मेरो डान्स युनिभर्स लगायत विभिन्न अन्तर्राष्ट्रिय फ्रेन्चाइज तथा रियालिटी शोको निर्देशनको अनुभव छ । कार्यक्रमको प्रसारण नेपालको राष्ट्रिय टेलिभिजनबाट हुनेछ भने, डिजिटल प्रसारण ओ एस आर मार्फत हुनेछ।

कार्यक्रमको नियमित प्रसारण भाद्र अन्तिम सातादेखि सुरु गरिने जानकारी निर्माण पक्षले दिएको छ।