काठमाडौं । अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशनमा बन्ने फिल्म ‘ए मेरो हजुर ५’को मुहूर्त गरिएको छ । निर्माण टिमले शुक्रबार ललितपुरस्थित पाटनको बंगलामुखी मन्दिरमा मुहूर्त गर्दै सिनेमाको छायांकन सुरु गरेको हो । बंगलामुखीमा मुहूर्त सट खिचेसँगै निर्माण टिम छायांकनका लागि बाजुरास्थित बडीमालिका मन्दिर र खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र प्रस्थान गरेको निर्देशक थापाले बताइन् ।
फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा मुख्य भूमिकामा देखिनेछन् । यो उनीहरूको तेस्रो सहकार्य हो । यसअघि उनीहरूले ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ एकसाथ अभिनय गरेका थिए ।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सुनिलकुमार थापा हुन् । फिल्मको कथा, पटकथा तथा संवाद झरना थापा र सरिन पोखरेलले तयार पारेका छन् । अनमोल र सुहानासहित फिल्ममा दिलीप रायमाझी, झरना थापा, सलोन बस्नेत, निरज पन्थी, आशा भुसाललगायत कलाकारको पनि अभिनय रहनेछ।
रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्मको गीतमा कल्याण सिंह, आशिष अविरल, कोशिश क्षेत्री, सलिन मगर, एकदेव लिम्बू तथा टिमको संगीत रहनेछ । संगीत संयोजन उदय राज पौडेलले गर्नेछन् ।
फिल्मको प्रमुख सहायक निर्देशकमा नवराज शर्मा रहेका छन् भने सहायक निर्देशकको जिम्मेवारी अनिल दाहाल र प्रकाश थापाले सम्हाल्नेछन् । निर्माण सहायकमा रञ्जित कोइराला रहनेछन् । कास्टिङ डिरेक्टरको जिम्मेवारी पटकथा लेखक सरिन पोखरेलले सम्हालेका छन् भने प्रोडक्सन डिजाइनर कुमार सिलवाल हुन् ।
त्यस्तै पोस्ट–प्रोडक्सन प्रमुख साहिल खान, रङ संयोजनमा राजन मोक्तान, ध्वनि मिश्रणमा उत्तम न्यौपाने, ड्रेस डिजाइनमा सुशिला श्रेष्ठ ओन्टा तथा छारिफ सार्जन ओन्टा र स्टाइलिस्ट तथा मेकअपरहेयरमा रोनिशा अधिकारी छन् ।
सिनेमाको वितरण काफिया फिल्म्स र कुबेर सिने डिस्ट्रीब्युसनले गर्नेछन् । झरना करिब २५ वर्षपछि अभिनय गर्न लागेकी हुन्। फिल्म नेपाली नयाँ वर्ष २०८४ को अवसरमा देशव्यापी प्रदर्शनमा आउनेछ ।





