द राइज अफ साम्राज्यमा नाजिर अनुबन्ध

काठमाडौं । निर्देशक सौरभ चौधरीले निर्माण गर्न लागेको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’मा अभिनेता नाजिर हुसेन अनुबन्ध भएका छन् । अभिनेता सौगात मल्ल र दयाहाङ राईपछि मुख्य भूमिकामा नाजिर यो फिल्ममा प्रवेश गरेका हुन् ।

नाजिरसँग सौरभले यसअघि पनि सहकार्य गरिसकेका छन् । सौगातको ‘अगस्त्य’मा नाजिरले काम गरेका थिए । ‘नाजिर आफैँमा भर्सटाइल अभिनेता हुन् । हामीले अब्बल कलाकार लिने क्रममा नाजिरसँग पनि यो फिल्ममा सहकार्य गर्ने भएका छौँ,’ निर्देशक सौरभ भन्छन्, ‘सौगात र दयाहाङ जस्तै नाजिरलाई पनि यो चलचित्रमा एक मुख्य कलाकारका रूपमा देख्न सकिनेछ ।’

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा उपन्यासकार बुद्धिसागरको कथा र पटकथा छ । फिल्म एपिक एक्सन ड्रामा हुने निर्देशक चौधरीको भनाइ छ ।

फिल्मको छायांकन भदौको पहिलो साताबाट सुरु हुनेछ । निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ, जसको अधिकांश हिस्सा पूर्वी नेपालमा खिचिनेछ । फिल्मका निर्मातामा प्रवेश चौधरी र निला देव रहेका छन् । को–प्रोडुसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन् ।