टनेल २६ बारे के भन्छन् अनुपविक्रम शाही

काठमाडौं । नेपाल, भारत र भुटानको सहकार्यमा निर्माण भएको फिल्म ‘टनेल २६’ यही शुक्रबार रिलिज हुँदैछ । फिल्ममा अभिनेता अनुप बिक्रम शाही प्रमुख भूमिकामा देखिँदैछन् । अनुपले यो फिल्ममा नेपाली फिल्ममा यसअघि नदेखिएको विषयवस्तु प्रस्तुत गरिएको दाबी गरेका छन् ।

‘हामीले भिन्न कथा लिएका छौँ। यो जम्बी विधामा बनेको फिल्म हो। नेपाली फिल्मको इतिहासमा पहिलोपटक हामीले जम्बी फिल्म बनाउने प्रयास गरेका छौँ। हरर, मिस्ट्री, सस्पेन्स र थ्रिलर मन पराउने दर्शकलाई यो फिल्म अवश्य मनपर्छ,’ उनले भने।

फिल्म तीन देशको सहकार्यमा निर्माण भए पनि यसलाई भुटानी फिल्मका रूपमा नबुझ्न अनुपले आग्रह गरे । उनका अनुसार नेपालमा फिल्म नेपाली भाषामा, भुटानमा भुटानी भाषामा र भारतमा त्यहाँको भाषाअनुसार डब गरेर रिलिज गरिनेछ। भाषाअनुसार डब हुँदैमा फिल्मको पहिचान परिवर्तन नहुने उनको तर्क छ।

अनुपले वास्तविक टनेलभित्र गरिएको सुटिङका क्रममा निकै कठिन अनुभव भए पनि फिल्मको टिजरले पाइरहेको प्रतिक्रिया र दर्शकको उत्साहले ती सबै दुःख बिर्साएको बताए ।