काठमाडौँ । यतिबेला फिल्मी बजारमा आगामी असोज ३० गतेबाट रिलिज हुने फिल्म ‘आ बाट आमा २’को चर्चा छ भन्दा फरक नपर्ला । फिल्मको टिजर र गीतले फिल्मप्रति दर्शकको चासो ह्वात्तै बढाइदिएको छ । त्यसो त अघिल्लो संस्करणको ‘आ बाट आमा’ सुपरहिट फिल्म हो । यो फिल्मको सम्पादन मिलन श्रेष्ठ र साहिल खानले गरेका थिए ।
‘आ बाट आमा २’ मा पनि मिलन र साहिलकै सम्पादन छ । त्यसो त ट्रेलर मास्टर रुपमा परिचित साहिलले नै फिल्मको टिजर र ट्रेलर काटेका छन् । साहिलले करिब २० वटा फिचर फिल्मको सम्पादन र ४५० भन्दा बढी टिजर तथा ट्रेलर काटिसकेका छन् ।
फिल्म सम्पादन गर्दा धेरै समय, धैर्य र बहुपक्षीय समन्वय आवश्यक पर्ने बताउने साहिलले यही सिद्धान्तलाई फिल्म ‘आ बाट आमा २’ मा पनि प्रयोग गरेका छन् । ‘एउटा पूर्ण फिल्मको सम्पादन टेबुलमा बस्दा स्क्रिप्टको मर्म, कथाको न्यारेसन, निर्देशकको सोच र स्वयं सम्पादकको दृष्टिकोणबीच निरन्तर अन्तरसंवाद हुनुपर्छ’, साहिल भन्छन् ।
उनी अगाडि भन्छन्, ‘फिल्म सम्पादन गर्न लामो समय लाग्छ। त्यहाँ स्क्रिप्टको मर्मलाई समात्नुपर्छ, निर्देशकको भिजनसँग तालमेल मिलाउनुपर्छ र दर्शकको आँखा कतै नबिझाउने गरी दृश्यको प्रवाह मिलाउनुपर्छ।’
‘‘आ बाट आमा’ सम्पादन गरेर बक्स अफिसमा १३ करोडभन्दा बढीको ऐतिहासिक व्यापारको साक्षी बनेका साहिल यतिबेला ‘आ बाट आमा २’ को अन्तिम सम्पादनमा व्यस्त छन्। फिल्मको टिजर र पहिलो गीत ‘अचेल किन कान्छी’ दुवैले युट्युबमा ५० लाखमाथि भ्युज कटाएर रेकर्ड बनाइसकेको छ । त्यसकारण पनि साहिललाई यो फिल्म थप राम्रो बनाउन जति चुनौती छ, त्यो भन्दा पनि बढी विश्वास साहिल प्रति फिल्मको टिमसँग छ ।
फिल्मका लेखक तथा निर्देशक चन्द्र पन्त पनि साहिलप्रति ढुक्क छन् । ‘उहाँमा फिल्मको विषयवस्तु, प्रस्तुतीदेखि कसरी दर्शकलाई फिल्मप्रति तान्न सकिन्छ भन्ने राम्रो ज्ञान छ । त्यसकारण पनि टिजर र ट्रेलर निर्माणमा उहाँको त्यो विशेष ज्ञान प्रति हामी पूर्ण रुपमा विश्वस्त छौं । त्यही विश्वासको श्रेय नै मान्नुपर्छ, उहाँले काटेको ट्रेलर र टिजर दर्शकका लागि विशेष चासोको विषय बन्ने गरेको छ’, निर्देशक पन्त भन्छन् ।
फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, मलिका महत, आकाश श्रेष्ठ, निकिता आचार्य, साइग्रस पोखरेललगायतका कलाकारको अभिनय छ ।






