‘फिल्म निर्देशन बौलाहा काम’

काठमाडौं । कलाकार दीपाश्री निरौलाले फिल्म ‘छक्का पन्जा’बाट निर्देशनमा डेब्यु गरिन् । डेब्यु फिल्मबाट पाएको सफलतालाई उनले फिल्म ‘छक्का पन्जा २’मा पनि निरन्तरता दिइन् । उनी यतिबेला यही फिल्मको तेस्रो सिक्वेल ‘छक्का पन्जा ३’ प्रदर्शनको तयारीमा छिन् । जुन फिल्म आगामी असोज २४ गते घटस्थापनाको दिन रिलिज हुँदैछ ।

दीपाश्रीको बुझाईमा फिल्मको निर्देशनको काम जोखिमपूर्ण हो । ‘दर्शकले फिल्म हेर्दा त्यसबाट आनन्द लिनुहुन्छ । तर हामी निर्देशकका लागि फिल्म निर्देशन बौलाहा काम नै हो,’दीपाश्रीले भनिन्,‘फिल्म सुटिङदेखि रिलिजसम्म कहिल्यै फुर्सद पाइँदैन । निर्देशकलाई १ सय ६ डिग्रीकै ज्वरो आउँदो रहेछ ।’

दीपाश्रीले आफूलाई छाँयाकार पुरुषोत्तम प्रधानले फिल्म निर्देशनका लागि प्रोत्साहन गरेको स्मरण गर्दै अहिले अन्य सहकर्मीलाई निर्देशनको काम गराउँछु भन्दा उनीहरुले नमान्ने गरेको खुलाइन् । ‘मैले दीपक, जितु, केदारलाई फिल्म निर्देशन गर्न भनिरहेको छु । तर उनीहरु डराएर दीपाजी नै हाम्रो निर्देशक भनिरहेका छन्,’दीपाश्रीले भनिन्,‘उनीहरुलाई फकाउन मलाई निकै गाह्रो परिरहेको छ ।’

दीपाश्रीलाई आफ्नो टिमभन्दा बाहिरको व्यानरबाट पनि फिल्मको अफर नआएको होइन् । तर उनी आफ्नै टिमसँग सन्तुष्ट छिन् । ‘अर्को फिल्ममा हात हाल्दा त्यो फिल्ममा टिमवर्क कस्तो होला भन्ने तनाव हुन्छ,’उनले भनिन्,‘तर हाम्रो टिमका सबैको काम गर्ने आनीबानी थाहा छ । त्यसैले म यही टिमबाट सन्तुष्ट छु ।’ फिल्म ‘छक्का पन्जा ३’मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, दीपिका प्रसाई, विल्सनविक्रम राई, नीर शाहलगायतका कलाकारको अभिनय छ ।

तस्बिरः आर्यन बिमली