चैतमा जीवन काँडा कि फूल

काठमाडौं । मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारितकृति ‘जीवन काँडा कि फूल’ बाट निर्माण गरिएको फिल्म ‘जीवन काँडा कि फूल’ आगामी चैत २२ मा रिलिज हुने भएको छ । राजधानीमा बिहिबार एक कार्यक्रमका बीच फिल्मको प्रदर्शन मिति र दुई पोष्टर सार्वजनिक गरियो ।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार मोहन निरौला, लय संगौला, उत्तम केसी, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, फिल्मका निर्माता तथा निर्देशक विनोद विष्ट, फिल्मकी सह–निर्माता तथा गायिका जुनु गौतम, संगीतकार राजु सिह, नायक धिरेन शाक्यलगायतले पोष्टर सार्वजनिक गरेका थिए ।

निर्देशक विष्टले बच्चादेखि जेष्ठ नागरिकसम्मले पुस्तकमा पढिएकी अर्थात कहिले काहीँ टेलिभिजनको स्क्रिनमा देखिने र सुनिने साहित्यकार झमक घिमिरेको जीवन कहानीलाई समेटी निर्माण गरिएको फिल्मले प्रेरणा दिने बताए ।

फिल्म घिमिरेको जन्मस्थान धनकुटा, धरानको वीपी मेमोरियल अस्पताल र काठमाडौंमा छायांकन गरिएको हो । विनोद भारत सिलिगुडीका नेपाली भाषी हुन् । फिल्ममा अवस्था प्रधान, रोजिता बुद्धचार्य, स्वीकृति शर्मा, टीका सुवेदी, सारीका घिमिरे, किशन, सुनार उमा बेबीलगायतको अभिनय छ ।