टिकटकमा गरुड पुराणको रेकर्ड

काठमाडौं । आगामी ४ माघबाट रिलिज हुने फिल्म ‘गरुड पुराण’ को सावर्जनिक गीत ‘म त पिरिममा’ बोलले टिकटकमा नयाँ रेकर्ड राखेको छ ।  यो गीतको अहिलेसम्म ४५ हजार भन्दा बढी टिकटक भिडियो निर्माण भएको निर्देशक सुवास कोईरालाले बताए । उनका अनुसार यो गीतलाई अहिलेसम्म टिकटकमा ३५ लाख पटक हेरिसकेका छन् । एक महिनाअघि रिलिज गरिएको यो गीतलाई युट्युवमा सोमबारसम्म १४ लाख ५३ हजारपटक मात्र हेरिएको छ ।

‘हाम्रो गीतको भिडियो सोचेको भन्दै धेरैनै अर्थात ४५ हजार बनेको छ र टिक टकमा यसलाई ३५ लाख पटक हेरिँदा युट्युवमा १४ लाखपटक मात्र हेरिएकाले गीत टिक टकमा सफल भयो ।’ निर्देशक सुवासले भने । उनका अनुसार यो गीतको कभर भिडियो प्रतियोगिता राखिएले पनि टिकटकमा चर्चा पाएको हो ।

‘फिल्मलाई रमाइलो बनाउने प्रयास गरेका छौ, त्यहि अनुरुप गीत पनि तयार गरेका हांै र यसले टिकटकमा खुबै चर्चा कमाएको छ ।’ निर्देशक कोइरालाले भने,‘यसै साता रिलिज गरिएको यो फिल्मको ट्रेलरले पनि राम्रो चर्चा पाएको छ ।’ पारिवारिक प्रेमकथामा आधारित गरुड पुराणमा हास्य रस पनि रहेको निर्देशक कोईरालाको भनाई छ । यो गीतको भिडियोमा अभिनेता निर्देशक निश्चल बस्नेतसँगै फिल्मका कलाकारहरु कर्मा शाक्य र नव नायिका प्रियंका सिंह ठकुरीको नृत्य छ । गीतमा निश्चलको जोडीको रुपमा अन्जली योञ्जन पनि छिन् ।

गीतमा कोसिस क्षत्रीको संगीत, दिनेश राउतको शब्द छ । गीतलाई कोसिस र मनिषा पोखरेलले गाएका हुन् । यसको कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी छिन् । आकाश बराल, बिनोल खतिवडा र सुवास आफैंले लेखेको यो फिल्मको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गरेका छन् ।