भ्यालेन्टाइनमा प्रेम दिवसको प्रेमिल पोस्टर

काठमाडौं । आगामी वर्षको जेठ ३ गतेबाट रिलिज हुने फिल्म ‘प्रेमदिवस’को दुई पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा नायिका प्रियंका कार्की, आयुष्मान देशराज जोशी र डेव्यु अभिनेता विशाल खरेल फिचर्ड छन् । फिल्मको एक पोस्टरमा आयुष्मान र प्रियंका तथा अर्को पोस्टरमा दुई नायकसँग प्रियंकाको रोमान्टिक अवतारलाई देखाइएको छ ।

फिल्मका निर्देशक योगेश घिमिरेले फिल्मको नाम अनुसार भ्यालेन्टाइन डेको अवसरमा पोस्टर सार्वजनिक गरिएको बताए । फिल्ममा हेमन्त बुढाथोकी, शिव शंकर रिजाल, उत्तम केसी, सञ्जय न्यौपाने, श्रीकृष्ण लुईटेल लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

रियल मोसन पिक्चर्स र एसएन प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा सञ्जय न्यौपानेको लगानी छ । फिल्ममा रमेश चौधरी र उत्सव दाहालको सह–निर्माण, प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद, मानकृष्ण महर्जनको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, अर्जुन पोखरेल, महाराज थापा र करण सिंह कार्कीको संगीत, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।