शिल्पाको प्रेम र पीडामा सानो मन ट्रेलर

काठमाडौं । आगामी असार २० गतेबाट रिलिज हुने फिल्म ‘सानो मन’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले आफ्नै हाईटक इन्टरट्रेनमेन्ट च्यानलबाट आइतबार फिल्मको ट्रेलर रिलिज गरेको हो । प्रेम र रोमान्सले भरिएको ट्रेलरमा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेममा आउने उचारचढावलाई प्रस्तुत गरिएको छ ।

यो फिल्मको यसअघि सार्वजनिक भएको फिल्ममा समावेश ‘रानु कम्मर’ बोलको गीतले चर्चा बटुल्दै गर्दा यो ट्रेलर आएको हो । यसले पनि चर्चा पाउने विश्वास निर्माण पक्षले लिएको छ । फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । यो फिल्म सुयोग गुरुङको डेब्यू निर्देशनमा तयार भएको हो । यस फिल्मको ट्रेलरबाट लभस्टोरी फिल्म रुचाउने दर्शकका लागि ‘सानो मन’ उपयुक्त छनोट हुनसक्ने विश्वास निर्माण पक्षको छ ।

फिल्मको एक गीत थाईल्यान्डको पतायाको समुन्द्री किनारमा खिचिएको छ । काठमाडौं, भैरहवालगायतका ठाउँहरुमा छायांकन भएको यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के मित्तल र राजेन्द्र मानन्धर हुन् । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा फिल्म बनेको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङले मिलेर लेखेको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् ।

‘सानो मन’ म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको निर्देशक गुरुङले बताए । फिल्मलाई लिएर आयुष्मान र शिल्पा निकै उत्साहित छन् । फिल्मका प्रोडक्सन डिजाइनर यम ओली हुन ।