काठमाडौं । फिल्म ‘पोई पर्यो काले’को शिर्ष गीतको छायांकन गरिएको छ । शीर्ष गीतमा नायक सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धरको साथमा नायिकाद्धय पूजा शर्मा र श्रृष्टी श्रेष्ठले कम्मर मर्काएका छन् । उनीहरुलाई कोरियोग्राफर रामजी लामिछानेले नचाएका हुन् । फिल्ममा शिव ढकालको छायांकन छ ।
शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । फिल्ममा राजिव गुरुङ र सरोज नेपालीको लगानी छ । अमलादेवी राई फिल्मकी कार्यकारी निर्माता हुन् । फिल्मको शिर्ष गीतमा अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर, नृपेश उप्रेतीको शब्द छ ।
कात्तिक ८ गतेबाट रिलिज हुने फिल्मका लागि कलाकारले खुबै मिहिनेत गरिरहेका थिए । नायिका पूजा शर्माले यो गीत फिल्म भित्र एउटा पुजामा घन्किने गीत रहेको सुनाइन् । तर, फिल्ममा उनले आफ्नो ‘पोई’ भने को हुन् भनेर खुलाउन चाहिनन् ।
नायक सौगात मल्लले पनि फिल्मलाई कमेडी कथामा निर्माण भएको बताए । तर, फिल्म हेर्दा दर्शकले पूर्ण मनोरञ्जन लिने उनको भनाई छ । नायक आकाश श्रेष्ठले राम्रो कथा र राम्रो टिमका कारण छायांकन सकिएको पत्तो नै नभएको बताए ।
नायिका श्रृष्टी श्रेष्ठ फिल्ममा पूजाको साथीको भूमिकामा छिन् । उनले, फिल्मको पुरा अवधी आफू नदेखिएपनि दर्शकले भूमिकालाई मन पराउने दाबी गरिन् । फिल्मका निर्देशक राणा र प्रस्तुतकर्ता नेपाली कथावस्तु, टिम बलियो भएकाले ढुक्क छन् । यसैले दिल खोलेर लगानी गरेको किरण बताउँछन् ।