काठमाडौं । राजनीतिले एउटा परिवारको सुमधुर सम्बन्धमा कत्तिको असर पर्ला, त्यो थाहा पाउन कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को सम्बन्धलाई हेरे पुग्छ । यो जोडीको सम्बन्धमा अहिले फाटो आएको छ, कारण हो राजनीति ।
तर तपाईंहरु नझुक्किनु होला । यो वास्तविकता भने होइन । आगामी फागुन ९ गतेबाट रिलिज हुने फिल्म ‘सेन्टी भाइरस’को बुधबार सार्वजनिक ट्रेलरमा राजनीतिले एउटा परिवारमा पारेको असरलाई देखाइएको छ । रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), विल्सनविक्रम राई, बुद्दि तामाङ, सन्दीप क्षेत्रीलगायतका कलाकारको मुख्य भूमिका छ ।
ट्रेलरमा सिताराम र कुञ्जनालाई फरक राजनीतिक दलका कार्यकर्ताको रुपमा देखाइएको छ । सुबिहानी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा डिन्डू लामा ह्याल्मो र फुर्पा ह्याल्मोको लगानी छ । फिल्ममा राजनराज सिवाकोटी, शंकर थापा, कालीप्रसाद बासकोटा, सुशान्त गौतमकोसंगीत, शैलेन्द्र ध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन र कुमार कट्टेल र दीपक आचार्यको पटकथा छ ।