काठमाडौं । विश्वव्यापी फैलिएको कोरोना भाइरसको अन्य मुलुकका फिल्म जस्तै नेपाली फिल्मलाई पनि परेको छ । फागुन ३० गतेबाट रिलिजको तयारीमा रहेको पल शाह र पुजा शर्मा स्टारर फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले अन्तिम समयमा आएर प्रदर्शन स्थगित गरेको छ । सुदर्शन थापा निर्देशित फिल्म निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सनले शुक्रबार एक विज्ञप्ती जारी गर्दै फिल्म फागुन ३० गतेबाट प्रदर्शनमा नआउने जानकारी गराएको हो । विज्ञप्तिमा कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि फिल्मको प्रदर्शन रोकिएको जनाइएको छ ।
विज्ञप्तिमा कोरोनाबाट बच्नका लागि जिल्ला प्रशासनले आवश्यक कामबाहेक बाहिर ननिस्कन, भीडभाडमा नजान र धेरै मानिस भेला हुने कार्यक्रम नगर्न सूचना जारी गरेको र नेपाल चलचित्र निर्माता संघले समेत सम्भव भएसम्म छायांकन रोक्न सूचना जारी गरेको अवस्थामा कोरोना भाइरसबाट कसैलाई असर नहोस् भन्नका लागि प्रदर्शन रोकिएको जनाइएको छ । विज्ञप्तीमा उल्लेख भए अनुसार नेपाल सरकारको अर्को सूचना नआउँदासम्म फिल्म प्रदर्शनमा आउने छैन ।
फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले लेखेको फिल्ममा पुजा र सुदर्शन निर्माता हुन् ।