मुम्बई(एजेन्सी) । कोरोना भाइरस लकडाउनले एक महिनामै बलिउडको जग हल्लाइदिएको छ । लकडाउनका कारण फिल्मको सुटिङ र रिलिज दुवैमा रोक लागेको छ । मुम्बईमा हालका दिनमा न त स्टारको चहलपहल छ, न त फ्यानको भीड नै देखिन्छ । लकडाउनका कारण बलिउड उद्योगमा कति परिवर्तन आउँदैछ भन्ने चर्चा बलिउडमा चल्न थालेको छ । बाँकी उद्योगसँगै बलिउडमा पनि मन्दीको चपेटा शुरु भइसकेको छ । व्यापार विश्लेषकको कुरा मान्ने हो भने बलिउडले सामान्य अवस्थामा फर्कन पनि कमसेकम दुई वर्ष लाग्नेछ । यस्तो अवस्थामा फिल्मको बजेटलाई सन्तुलनमा राख्नका लागि बलिउड स्टारले आफ्नो पारिश्रमिकमा कटौती गर्नुपर्नेछ ।
व्यापार विश्लेषक तरुण आदर्श चाँडै नै फिल्म उद्योगमा पारिश्रमिक कटौती शुरु हुने दाबी गर्छन् । ‘फिल्म बनाउनका लागि एउटा टिमको आवश्यकता पर्दछ । यो टिमलाई पाश्रिमिक दिनका लागि बलिउडका कलाकारको पारिश्रमिक कम गर्नुपर्ने हुन्छ । फिल्मको बजेटको एक ठूलो हिस्सा केवल कलाकारले नै पाउँदै आएका छन् । मलाई लाग्छ कि यो विषयमा सोचविचार गर्ने समय आइसकेको छ’, तरुण भन्छन् । अर्का वरिष्ठ व्यापार विश्लेषक कोमल नाहटाको धारणा पनि तरुणकै जस्तो छ । ‘हामीसँग पारिश्रमिक कटौतीबाहेक अर्को विकल्प छैन । फिल्ममा व्यापारको मन्दी अवस्था छ । यस्तो बेला जुनसुकै अवस्थामा कलाकारले पारिश्रमिक कम गर्नुपर्छ’, उनी भन्छन् ।
अर्का विश्लेषक अक्षय राठी मनोरन्जन उद्योगलाई बचाउने चाहना हो भने कडा कदम उठाउनुपर्ने राय दिन्छन् । ‘कोरोना भाइरस लकडाउनका कारण फिल्म निर्माताको धेरै पैसा फँसेको छ । आउदा दिनमा बलिउडमा काम गर्ने तरिकामा परिवर्तन ल्याउन आवश्यक भइसकेको छ । आगामी केही वर्षसम्म यस्तै अवस्थामा काम गर्नुपर्ने हुन्छ । कलाकारको पारिश्रमिकमा कटौती गरिएन भने फिल्मको कमाईबाट नाफा कमाउन मुस्किल पर्छ’, उनले भनेका छन् । अभिनेता वरुण धवन र रणवीर सिंह जस्ता स्टार एक फिल्मबाट २५ देखि ३५ करोडसम्म पारिश्रमिक लिन्छन् । त्यस्तै अभिनेत्री आलिया भट्ट, दीपिका पादुकोण र श्रद्धा कपुर ५ देखि १२ करोडसम्म पारिश्रमिक लिन्छन् ।