भारतद्वारा नेपाललाई टेस्ट किट उपहार

काठमाडौं । नेपालमा कोरोना परीक्षण गर्नका लागि भारतले पीसीआर टेस्ट किट उपहार प्रदान गरेको छ । भारतका तर्फबाट भारतीय राजदुत विनय मोहन क्वात्राले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई माइल्याबले उत्पादन गरेको पीसीआर टेस्ट किट हस्तान्तरण गरेको हो ।

दुतावासले भारतीय जनताका तर्फबाट नेपाली जनताका लागि उपहार प्रदान गरिएको जनाएको छ । उसले टेस्ट किटको सहयोगले नेपालका स्वास्थ्यकर्मीहरुले तीस हजार व्यक्तिको पीसीआर परीक्षण गर्न सक्ने दुतावासले उल्लेख गरेको छ ।

गत वैशाख १० गते राजदुत क्वात्राले नेपाल सरकारलाई २३ टन औषधि हस्तान्तरण गरेका थिए । औषधि र परीक्षण किटको हस्तान्तरणले कोभिड १९ महामारीले निम्त्याएको चुनौतीविरुद्ध तयार रहन, समाना गर्न र एकसाथ लड्न दुई देशका नेता एवं जनताबीचको सहकार्यलाई दर्शाउने गरेको दुतावासले जनाएको छ ।