सुशान्तका फ्यानद्वारा आत्महत्या

पटना(एजेन्सी) । हालै आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुतका एक प्रशंसकले आत्महत्या गरेका छन् । बिहारका ती युवक सुशान्तको निधनको खबर सुनेपछि दुःखित थिए । उनी पटक पटक सुशान्त मरेको छैन भन्दै बर्बराउथे ।

बिहार नालन्दा जिल्लाको चण्डीथाना क्षेत्रको लोदीपुर गाउँका कक्षा ९ मा अध्ययनरत छात्र गौतम कुमारले घाँटीमा पासो लगाएर आत्महत्या गरेका हुन् । मृतकका परिवारका अनुसार सुशान्तको फिल्म ‘एमएस धोनी–अनटोल्ड स्टोरी’ बेलुका हेरेर मंगलबार बिहान आफ्नो निर्माणाधिन घरको कोठामा गएर डोरीको सहायताले झुण्डिएर आत्महत्या गरेका थिए ।

निकै लामो समयसम्म पनि घरमा नफर्किएपछि परिवारका सदस्यहरु नयाँ घरमा गएर ढोका ढकढकाएका थिए । ढोका नखोलेपछि ढोका फोडेर भित्र छिर्दा उनी झुण्डिइरहेका थिए । घटनाबारे थाहा पाउनासाथ चण्डीथानाको प्रहरी त्यहाँ पुगेका थिए । शवलाई पोस्टमार्टमका लागि बिहारशरीफ सदर अस्पताल लगिएको छ ।

‘प्रारम्भिक छानविनमा यो मामलामा आत्महत्या नै हो भन्ने देखिन्छ । प्रहरीले यो विषयमा छानविन गरिरहेको छ । परिवारले सुशान्तको मृत्युपछि गौतम डिप्रेसनमा रहेको जानकारी दिएका छन्’, प्रहरीले भनेको छ । गौतमका पिता उमाशंकर लालले सुशान्तको आत्महत्याको खबर पछि गौतम निकै तनावमा रहेको बताए । उनी सुशान्तको मृत्युलाई लिएर अनेक प्रश्न गर्थे । यो कुरा उनले आफ्ना साथीहरुलाई पनि सुनाएका थिए ।