सुशान्तसँग यसकारण रिसाएका थिए सलमान

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या पछि बलिउडमा भुइचालो नै आएको छ । बलिउडका केही व्यक्ति र सुशान्तका फ्यानहरुले बलिउडमा चल्ने समूहबाद र नातावादले सुशान्तले काम नपाएको आरोप लगाउँदै आएका छन् । यी व्यक्तिहरुले सलमान खान र करण जोहार जस्ता ठूला व्यक्ति दोषी रहेको दाबी गरेका छन् । काम नपाएको कारण सुशान्त डिप्रेसनमा गएको र आत्महत्याको बाटो रोजेको बुझाई फ्यान तथा केही बलिउडकर्मीको छ ।

यी आरोपलाई मध्यनजर गर्दै मुम्बई प्रहरी प्रोफेसनल राइवलरीको कोणबाट सुशान्तको आत्महत्याको जाँच गरिरहेको छ । बिहारमा करण र सलमानसहित फिल्म उद्योगका ८ मानिसमाथि सुशान्तलाई आत्महत्याको लागि उक्सावट गरेको आरोपमा मुद्धा दर्ता गरिएको छ । सलमानको नाम आउनासाथ पटनामा उनका विरुद्ध प्रदर्शन शुरु भइसकेको छ भने उनको ब्राण्ड बिइङ ह्युमनको आउटलेटमा तोडफोड गरिएको छ । तर सुशान्तको आत्महत्या मामलामा सलमानको नाम कसरी आयो भन्ने प्रश्न अहिले बलिउडमा छ । यदी सलमान सुशान्तसँग रिसाएका थिए भने त्यसको कारण के थियो भन्ने प्रश्न पनि जीवन्त छ ।

फिल्मसँग जोडिएका केही व्यक्तिहरुका अनुसार सलमान एक फिल्म बनाउन चाहन्थे । जसमा प्रमुख भूमिकाका लागि सुशान्तलाई फाइनल गरिएको थियो । यो फिल्मको स्क्रिप्ट पनि पुरा भइसकेको थियो र फिल्मका लागि पनि सुशान्त उपयुक्र्त पात्र हुनसक्छन् भन्ने सलमानलाई लागेको थियो । तर शुरु हुनुअघि नै यो फिल्म बन्द भयो । त्यसपछि यो फिल्म कहिल्यै बनेन । सुशान्तसँगको रिसकै कारण सलमानले यो फिल्म रोकेका हुन् भन्ने भनाइ छ ।

सलमान र अभिनेता आदित्य पन्चोली निकै राम्रा साथी हुन् । यो साथीत्वका कारण सलमानले आफ्नो प्रोडक्सन हाउसको ब्यानरमा सन् २०१५ मा फिल्म ‘हिरो’मार्फत सुरज पन्चोलीलाई सार्वजनिक गरेका थिए । एक समय मुम्बईको एक पबमा कुनै पार्टी भइरहँदा सुरज र सुशान्तबीच केही खटपट भएको थियो । यो कुरा सलमानसम्म पुगेको थियो । तर सुशान्तले यो घटनामा सुरजको गल्ती भएको बताएका थिए । जुन कुरा सलमानलाई मनपरेन । त्यही कारण सुशान्तलाई प्रमुख भूमिकामा अभिनय गराइने भनिएको फिल्म बन्द गरियो ।

अभिनेता सलमानको एउटा बानी कस्तो छ भने उनी जो व्यक्तिसँग रिसाउछन्, त्यो व्यक्तिको बारेमा कुराकानी गर्न उनी रुचाउदैनन् । सलमानले एक टक शोमा सुशान्तको बारेमा यस्तै अभिव्यक्ति दिएका थिए । उनलाई प्रस्तोताले सुशान्तको बारेमा सोध्दा उनले ‘को ?’ भन्ने प्रतिक्रिया दिएका थिए ।