मुम्बई(एजेन्सी) । ‘जन्म कब लेना है और मरना कब है ये हम डिसाइड नहीं कर सकते लेकिन कैसे जीना है वो हम डिसाइड कर सकते हैं’, बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’मा सुशान्तले बोलेको यो संवादले जोकोही दर्शकको मन यतिबेला रोइरहेको छ । फिल्मको सोमबार ट्रेलर सार्वजनिक भएपछि फिल्म प्रति दर्शकको चासो ह्वात्तै बढेको छ । सामाजिक सन्जालमा ट्रेलरसँगै सुशान्तको यो संवादले पनि राम्रो तारिफ पाइरहेको छ
फिल्मको विषय त मार्मिक नै छ, युवा अभिनेता सुशान्तको निधनले आहत उनका प्रशंसक सामाजिक सन्जालमा आफ्नो भावना व्यक्त गरिरहेका छन् । ट्रेलर रिलिज हुनासाथ सामाजिक सन्जालमा भाइरल भइरहेको छ र ट्विटरमा ट्रेन्डिङमा आइसकेको छ । ट्विटर प्रयोगकर्ता दिलबेचारा ट्रेलर ह्यासट्यागका साथ ट्वीट गरेर फिल्मको दृश्य र सुशान्तको फोटो शेयर गरिरहेका छन् । कैयौं प्रशंसकले ट्रेलर हेरेर आँशु रोक्न नसकेको प्रतिक्रिया दिएका दिइरहेका छन् ।
फिल्मका निर्देशक मुकेश छाबडाले सामाजिक सन्जालमा एक चिठी लेखेर यो फिल्मलाई दर्शक सामू ल्याउन दुई वर्ष कुर्नु परेको जानकारी दिएका छन् । ‘मेरो पहिलो फिल्मको ट्रेलर आज सबै सामू आएको छ । म खुशी छु कि यो फिल्मका लागि तपाईंहरुको सब्सक्रिप्सनको आवश्यकता पर्दैन र सबै मानिसहरु फिल्मलाई पक्कै हेर्नेछन्’, उनले लेखेका छन् ।
ट्रेलर हेरेपछि संगीतकार एआर रहमानले ‘दिल बेचाराको ट्रेलर आएको छ । यो प्रेमकथाको मजा लिनुहोस्’ भन्दै ट्वीट गरेका छन् । कलाकार नवाजुद्दीन सिद्दिकीले ‘राम्रो ट्रेलर, अवश्य हेर्नुहोला । यसमा सुशान्त सिंह राजपुतको काम उत्कृष्ट छ’ भनी लेखेका छन् । अभिनेता विद्युत जामवालले सुशान्तका फ्यानलाई यो फिल्म अवश्य पनि हेर्न आग्रह गरेका छन् । ट्वीटर प्रयोगकर्ता रोहित जायसवालले ट्वीट गर्दै ‘दिल बेचाराको ट्रेलर हेरेर रोएँ । रिलिज अघि दर्शकले यसलाई हात हातमा लिएका छन्, एउटा उत्कृष्ट ट्रेलर’ भन्दै लेखेका छन् । यो फिल्म जुलाई २४ मा अनलाइन प्लेटफर्मममा रिलिज हुँदैछ । फिल्मलाई डिज्नी प्लस हटस्टारमा रिलिज गरिनेछ । फिल्ममा सुशान्तसँगै संजना संघीको पनि अभिनय छ ।