अभिनेता सतीश कोरोना मुक्त

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सतीश शाह कोरोना मुक्त भएका छन् । गत महिना कोरोना संक्रमण देखिएपछि उनी २० जुलाईमा मुम्बईस्थित लीलावती अस्पतालमा भर्ना भएका थिए । २८ जुलाईमा कोरोना टेस्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज भए ।

कोरोना मुक्त भएपछि उनले आफ्नो अनुभवलाई ट्वीटरमा शेयर गरेका छन् । उनले आफूलाई स्वस्थ बनाउन खटिने मेडिकल स्टाफलाई धन्यवाद दिएका छन् । उनले आफू ठिक भएको र प्रोटोकल अनुसार अगष्ट ११ अर्थात् मंगलबारसम्म क्वारेन्टाइनमा बस्ने बताए ।

सतीशका अनुसार उनलाई शुरुमा ज्वरो आएको र औषधि सेवन गरेर ज्वरो कम प्रयास गरिरहँदा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनले सबै संक्रमितलाई अस्पतालमै उपचार गर्न सुझाव दिएका छन् । ‘कोरोनाबाट डराउनु पर्दैन । म आफ्नो उमेरका कारण केही चिन्तित थिएँ । तर अहिले ठिक छु । म मानिसहरुलाई सकारात्मक सल्लाह दिइरहेको छु’, उनले भनेका छन् ।

चार दशकदेखि टेलिभिजन र फिल्ममा सक्रिय सतीशले कैयौं हिट टेलिभिजन सियिरल र ब्लकब्लष्टर फिल्ममा अभिनय गरिसकेका छन् । उनले बलिउडका ‘हम आपके हैं कौन’, ‘हम साथ साथ है’ र फराह खानको एक्शन कमेडी ‘मैं हूँ ना’लगायतमा अभिनय गरिसकेका छन् । टेलिभिजनको कुरा गर्दा ‘साराभाई खक साराभाई’ र ‘ये जो है जिन्दगी’ले उनलाई लोकप्रिय बनायो ।