सुशान्तको फरेन्सिक रिपोर्ट पर्खदै सीबीआई

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको तीन महिना पुगिसकेको छ । यो अवधिमा भइरहेको अनुसन्धानमा उनीबारे नयाँ नयाँ सूचना बाहिर आइरहेका छन् । गत जून १४ मा उनले आत्महत्या गरेपछि चारैतिरबाट विवाद र बहस चलिरहेको छ । यही बीचमा सीबीआईले अभिनेताको आत्महत्या वा हत्या विषयमा अनुसन्धान गरिरहेको छ । अल इण्डिया इन्स्टीट्यूट अफ मेडिकल साइन्स (एम्स)को एक एक्सपर्ट फरेन्सिक टिमले चिकित्सीय मामलाको अध्ययन गरिरहेको छ ।

समाचार अनुसार सुशान्तको मामलामा मेडिकल टिमको १७ सेप्टेम्बरमा बैठक बस्दैछ । त्यहीकारण सीबीआईले सुशान्तको फरेन्सिक रिपोर्टको पर्खिरहेको छ । त्यो रिपोर्टले उनको हत्या हो वा आत्महत्या भन्ने पत्ता लगाउनेछ ।

यही बीचमा एनसीबीले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीलाई लागु औषधको खरिदविक्री र अभिनेतालाई दिएको आरोपमा पक्राउ गरि हिरासतमा राखिसकेको छ ।एनसीबीले रियाको भाईसहित अन्यलाई पनि पक्राउ गरेर हिरासतमा राखेको छ । उसले सुशान्तको पावना लेक फार्म हाउसमा छापा मारेर औषधि, हुक्का र एस्ट्रेजस्ता बस्तु बरामद गरेको छ । यी सामान बरामद भएसँगै फार्म हाउसमा लागु औषधिको मामला बढेको अनुमान लगाइएको छ ।