दिदीभाइको साहित्यिक सत्र पुष्पपत्र

भर्जिनिया । विश्व कोविड–१९ को कहरमा नराम्रोसँग जकडिएको परिस्थितिमा नेपाललगायत अन्य स्थानमा रहेका शरणार्थी शिविरमा रहेका बालबालिकाको स्वास्थ्य एवं शिक्षा सेवाको लागि सहयोग पुर्याउने उद्देश्यसहित भर्जिनिया निवासी सुकृति शर्माले आफ्नो भाइ साइमनसँग सहकार्य गरी ‘सत्र पुष्पपत्र’ नामक पुस्तक सार्वजनिक गरेकी छन् ।

किन्डल डाइरेक्ट पब्लिसिङद्वारा बजार व्यवस्थापन गरिएको उक्त पुस्तकमा १७ वटा कालातीत कथाहरू छन् । जसले मानवीय व्यक्तित्वका १७ विशेषताहरू स्वीकृति, विनम्रता, श्रद्धा, सद्गुण, उद्देश्य, सरलता, प्रतिबद्धता, लगनशीलता, सेवा, स्थिरता, आश्वासन, इच्छुकता, वफादारीता, संवेदनशीलता, अनुकम्पा, बुद्धि र भक्तिबारे वर्णन गरेको छ । बढ्दो उमेरका बालबालिकाहरुका लागि लक्षित पुस्तकले पत्रकार, अखबारका सम्पादकहरू र विश्वविद्यालयका प्राध्यापकहरूबाट पाठकहरूलाई संलग्न गराउन सक्ने क्षमता भएको पुस्तक भनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

सेप्टेम्बर १५मा अमेजनमा पुस्तक विमोचन गरिएको दिन विज्ञप्ती जारी गर्दै लेखकहरूले पुस्तक उनीहरूको अभिभावकहरुको मौखिक कथाबाचन संस्कृतिबाट समृद्ध परम्पराको नतिजा रहेको उल्लेख गरेका छन् । ‘कोरोना भाइरसका कारण घरमै बन्दी भएको अवस्थामा विभिन्न शरणार्थी शिविरहरुमा आफुजस्तै बालबालिकाहरुको स्वास्थ्य र शिक्षाको चुनौतीको बारेमा टेलिभिजनमा वृत्तचित्र हेरेपछि यो कथासंग्रह प्रकाशन गर्ने जमर्को गरेका हौं’, सुकृतिले भनिन् ।

लेखकहरुले पुस्तक आफ्नी आमा सोना शर्मा र हजुरआमा मिन्द्रकुमारीमा समर्पित गरेका छन् । केशवराज खनालले प्रत्येक कथालाई चित्रमा उतारेको यो कथासंग्रहको कवर तथा पेजडिजाइन कृष्ण शर्माले गरेका छन् । अमेजनले सेप्टेम्बर ९देखि पुस्तकको अनलाइन र पेपरब्याक संस्करण प्रि–अर्डरको लागि उपलब्ध गराएको थियो ।