सुकान्तोले बनाए सुशान्तको मैन मूर्ति

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सुशान्त सिंह राजपूतका एक फ्यानले उनलाई विशेष किसिमले सम्झिएका छन् । बंगालका मूर्तिकार सुकान्तो रेले सुशान्तको मैन मूर्ति बनाएका छन् । जसको तस्बिर सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ ।

सुशान्तको निधनको करिब तीन महिना पछि सुकान्तोले उनको मैन मूर्तिलाई पर्दापण गर्दै सार्वजनिक गरेका हुन् । सुशान्तको मैन मूर्ति देखेपछि उनका फ्यान खुशी भएका छन् । फ्यानले सुकान्तोको यो कामको तारिफ गरेका छन् ।

केही फ्यान भने मूर्ति देखेर भावुक पनि भएका छन् । उनीहरुले मूर्ति सुशान्तकै जस्तो देखिएको प्रतिक्रिया दिएका छन् । मूर्तिकार सुकान्तो आसनसोलमा बस्छन् । सुशान्तको मूर्ति बनाउनु अघि उनले कैयौं मानिसको मैन मूर्ति बनाइसकेका छन् । सुकान्तोले आफ्नो घरमै संग्राहलय खोलेका छन् । यो संग्राहलयमा उनले मैनले बनेका सबै मूर्ति राखेका छन् ।

सुकान्तोले हालसम्म रवीन्द्रनाथ टैगोर, अमिताभ बच्चन, मिथुन चक्रवर्ती, विराट कोहली, सचिन तेन्दुलकर, सौरभ गांगुली र ममता बनर्जीको मूर्ति बनाइसकेका छन् । त्यसो त सुशान्तका फ्यानले लण्डनको मेडम तुसादमा उनको मैन मूर्ति बनाउन माग गरेका छन् ।