काठमाडौं । कोरोना महामारीका कारण झन्डै ७ महिनादेखि ठप्प फिल्म क्षेत्र विस्तारै चलमलाउन थालेको छ । भलै फिल्म हल नखोले पनि फिल्म सम्बन्धी गतिविधि बढ्न थालेको छ । यो समयमा नयाँ फिल्म निर्माणको घोषणा पनि धमाधम भइरहेका छन् ।
यहीक्रममा ‘रोल्पा रोग’, ‘कुम्भकर्ण’ र ‘पण्डित बाजेको लौरी’ फेम्ड निर्देशक दीपक ओलीले नयाँ फिल्म ‘कृष्ण लीला’ निर्देशन गर्ने भएका छन् । फिल्ममा अभिनेता पुष्प खड्का र अभिनेत्री दीपिका प्रसाईंले अनस्क्रिन रोमान्स गर्नेछन् । फिल्मका लागि यी दुई कलाकारको सम्झौता भइसकेको छ ।
सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहने सस्पेन्स कमेडी जनराको फिल्ममा पुष्प र दीपिकासँगै बुद्धि तामाङ, रविन्द्र झा र नविन रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।
निर्देशक दीपकका अनुसार फिल्मको छायांकन असोज १५ बाट शुरु हुने तयारी छ । रोहित कट्टेल प्रस्तुतकर्ता रहने फिल्ममा निर्माता रत्न श्रेष्ठ छन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, शिव ढकालको छायांकन हुनेछ ।