कोरोना संक्रमितलाई अक्सिजन दिन बाइक बेच्दै हर्षवर्धन

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता हर्षवर्धन राणेले कोरोना संक्रमितसम्म अक्सिजन आपूर्ति गर्नका लागि चाहिने पैसा जम्मा गर्नका लागि एक नयाँ तरिका अपनाएका छन् ।

समाचारअनुसार उनी आफ्नो बाइक बेचेर संक्रमितसम्म अक्सिजन पुर्याउने योजना बनाएका छन् । उनले आफ्नो अफिसियल इन्स्टाग्राम एकाउण्टमा राखेको तस्बिरमा आफ्नो बाइक सफा गर्दै गरेको देख्न सकिन्छ ।

‘कृपया मेरो बाइक कसैले किनिदिनुहोला, ताकि म यसबाट आएको रकमले अक्सीजन कन्टसेन्ट्रेटर किन्न सकुँ र अत्यावश्यक व्यक्तिलाई सहयोग गर्न सकुँ । हैदराबादमा मलाई राम्रो अक्सीजन कन्सेंट्रेटर चाहिएको छ’, उनले लेखेका छन् ।

उनले ‘सनम तेरी कसम’ र ‘पलटन’ जस्ता फिल्ममा अभिनय गरेका छन् । गत वर्ष उनी पनि कोरोना संक्रमित भएका थिए । आइसियूमा भए पनि उनले फिल्म ‘तैश’का लागि डब गरेका थिए ।

हर्षवर्धन जोन अब्राहमको नयाँ फिल्म ‘हम तारा बनाम बिलाल’मा देखिँदैछन् ।