ए कालु भेनामा हरिवंश र मिलन

काठमाडौं । कलाकार हरिवंश आचार्य पछिल्लो समय गायन र अभिनयमा निकै सक्रिय छन् । उनको स्वर र अभिनयमा रहेको गीत ‘माछीलाई खोलीको लेउ’ केही समयअघि सार्वजनिक भएको थियो । उक्त गीतपछि हरिवंशले अर्को गीत सार्वजनिक गरेका छन् ।

‘ए कालु भेना’ बोलको गीतमा उनलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएका छन् । गीतमा हरिवश आचार्यको नै शब्द र संगीत रहेको छ । गीतमा किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाईलीको मिक्सिङ रहेको छ ।

मौलिक अडियोको भिडियोलाई निर्देशक गम्भीर बिष्टले आकर्षक बनाएका छन् । हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेल फिचर्ड भिडियोमा गाउँघरको परिवेश र त्यहाँको माहोललाई समेटिएको छ ।

गम्भीरको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन र भुपेन्द्र अधिकारीको सम्पादन छ । गज्जब टिभीको प्रस्तुती रहेको गीतको भिडियो गज्जब टिभीको अफिसियल युट्युबबाट रिलिज गरिएको छ ।