काठमाडौं । रसियाको नोभोसिबिर्स्क शहरमा भइरहेको ‘वान, टु, थ्री थिएटर फेस्टिवल’मा नेपालको प्रतिनिधित्व गर्दै कान्तिपुर फिल्म एकाडेमीले नाटक ‘पिस’मञ्चन गरेको छ ।फेस्टिबलको नियम अनुसार एक दुई या धेरैमा तीन कलाकारले मात्रै प्रदर्शन गर्न पाउने उक्त फेस्टिवलमा सहभागी हुन नेपालबाट कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरी, एकेडेमिक डाइरेक्टर नरेशकुमार केसी र अभिनय बिधाका बिद्यार्थीहरु मोहन जैशी र सन्जोग रसाइली रसिया गएका थिए ।
रसियाको सबै राज्यमा ४६ ओटा नाटक मन्चन भएको उक्त फेस्टिवलमा नेपालले १२ फेब्रुअरी दिउँसो ३ बजे, नोभोसिबिर्स्क स्थित रेड हाउस थिएटरमा रोनिश राउत निर्देशित २३ मिनेट लामो यो नाटक देखाएको हो । नेपालको द्वन्द्वकालको विषयमाथि निर्माण गरिएको उक्त नाटकमा सन्जोग रसाइलीले माओवादी र मोहन जैशीले आर्मीको भुमिका निर्वाह गरेका थिए ।
नाट्क पछि नेपालको सिनेमा, आर्ट र थिएटरको विषयमा अन्तरक्रिया राखिएको थियो । नेपाली टोलीले रसियास्थित थिएटर ईन्स्टिच्युट, युनिभर्सिटी, ओपेरा हाउस, टेलिभिजन र आर्ट हाउसको औपचारिक भ्रमण गरेका थिए । फेस्टीवलको आयोजक नोभोसिबिर्स्क स्टेट थिएटर ईन्स्टिच्युट र ‘अन द लेफ्ट बेन्क’ थिएटर ईन्स्टिच्युटका प्रतिनिधीहरु गत जेष्ठमा नेपाल आएर कान्तिपुर फिल्म एकेडेमीसँग नेपाल र रसियाबिच स्कलर एक्सचेञ्ज र कल्चरल एक्सचेञ्जको लागि सहकार्य गर्ने सम्झौता गरेका थिए ।
यो भ्रमण र सहभागिताले दुई देशको थिएटर, एजुकेसन, कल्चर र रिलेसन बिस्तारमा महत्त्वपूर्ण भुमिका खेलेको सिईओ प्रकाश पुरीले बताए । उनले हरेक बर्ष बिधार्थी पढ्नको लागि पठाउने, थिएटर फेस्टिवल र प्रतियोगितामा सहभागी हुने र नेपाली फिल्मको छायांकनको लागि वातावरण बनाइदिने जस्ता महत्वपुर्ण बिषयमा सम्झौता भएको जानकारी दिए । प्रदर्शन सकेर नेपाली टोली आज नेपाल फर्किदैछ ।