काठमाडौं । आगामी डिसेम्बर ४ मा काठमाडौंको ठमेलमा रहेको क्लब फरेनहाइटमा इन्डियन–अमेरिकन र्यापर द राजा कुमारीको कन्सर्ट आयोजना हुने भएको छ ।
राजा कुमारीले अमेरिकामा विज खलिफा जस्ता चर्चित र्यापरसँग स्टेज शेयर गरिसकेकी छिन् । यस्तै उनी ग्रामी अवार्डमा समेत नोमिनेशनमा परिसकेकी छिन् ।
राजा कुमारीलाई नेपाल ल्याउँदा विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै गएको सन्देश पुग्ने र यहाँको व्यापार व्यवसायलाई समेत फाइदा पुग्ने विश्वास क्लब फरेनहाइटको छ ।
राजा कुमारी डिसेम्बर ३ मा दिल्ली हुँदै नेपाल आउनेछिन् । उनलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिने आयोजकले जनाएको छ ।
यो कन्सर्ट हेर्नका लागि दर्शकले १ हजार र २ हजारका टिकट खरिद गर्न सक्नेछन् । क्लब फरेनहाइटका सञ्चालक मिलन श्रेष्ठका अनुसार नेपालमा राजा कुमारीका युवा फ्यान धेरै भएकाले उनलाई नेपाल ल्याउन लागिएको हो ।
यसअघि फरेनहाइटमा आदित्यनारायण झा, टोेनी कक्कडजस्ता गायकहरुले प्रस्तुति दिइसकेका छन् ।