मन्त्र गीतमा दियासँग रोमान्टिक सौगात

काठमाडौं । फिल्म ‘मन्त्र’ को पहिलो गीत ‘तिम्रै हुँ भन्छ यो मनले’ सार्वजनिक भएको छ । गीतमा अल्मोडा राना उप्रेती र अप्सरा घिमिरेको स्वर तथा सन्तोष सुनारको शब्द र संगीत छ । भिडियोमा फिल्मका अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन फिचर्ड छन् ।

वैशाख १६ गतेबाट रिलिज हुने फिल्मको यसअघि सार्वजनिक ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएको छ । फिल्मको गीत एट के एभरेस्ट मोसन पिक्चर्सको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मसको ब्यानरमा बनेको फिल्मका निर्देशक खिलबहादुर गुरुङ हुन् । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मससँगै डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको छ । फिल्म गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाएर निर्माण गरिएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायांकन गरिएको फिल्मका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ । गोर्खा जिल्लाको चुमनुब्री सामा गाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ।

हिमालयन लभ स्टोरी ‘मन्त्र’ मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । फिल्ममा बुद्दि तमाङ, नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । राजेश जंगको सह निर्देशन रहेको चलचित्रमा सह निर्माताको रुपमा भिमसेन केसी र बिसेष सहयोगी अमृत थापा रहेका छन् ।

साम्तेन भुटिया,सुनिल नेउरे,परिच्छेद सेनले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन,सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । फिल्मको काठमाडौँ बाहिर एफडि कम्पनि र उपत्यकामा काफिया फिल्म्सले वितरणको जिम्मा लिएका छन् ।