काठमाडौं । सामाजिक कथामा बन्न लागेको फिल्म ’आँखा’ औपचारिक घोषणा भएको छ । जौन योन्जनको निर्देशनमा बन्न लागेको उक्त फिल्मको राजधानीमा आयोजित एक कार्यक्रमकाबीच निर्माण घोषणा गरिएको हो ।
निर्माण ब्यानर लामा सिनेमाले फिल्ममा समावेश कलाकार तथा प्राविधिक टिम पनि सार्वजनिक गरेको छ । निर्देशक योन्जनकै कथा, पटकथा रहने फिल्ममा आरके मेहता, अस्मिता लामिछाने, निशा अधिकारी,बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन अतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभय बराल, सरोज लामिछाने, मोहन अभिलाशी मुख्य भुमिकामा रहनेछन् ।
निर्देशक योन्जनले ‘आँखा’ले कुनै व्यक्तिदेखि समाजसम्मकै वास्तविकता देख्ने भन्दै नेपाली समाजको एक पाटोको यथार्थता यो फिल्मले बोल्ने बताए । नेपाली फिल्ममा हराउँदै गएको पर्फमिङ आर्टलाई यो फिल्मले फर्काउने विश्वास उनको छ ।
अभिनेत्री निशा अधिकारीले पछिल्लो वर्ष आफुले नयाँ भिजन र क्रियशन भएका मेकरहरुसँग काम गर्न पाएको भन्दै ‘आँखा’ पनि त्यसैको निरन्तरता रहेको बताइन् । इटालीमा फिल्म अध्ययन गरेर नेपाल फर्केका कलाकार आरके मेहताले आफ्नो अध्ययन कुशलतालाई पर्दामा ल्याउँदा दर्शकलाई भिन्न स्वाद दिने र निराश नबनाउने बताए ।
आकोश शुक्लाले छायांकन गर्ने फिल्ममा संगीत दिपक आरजेको रहनेछ भने द्वन्द्व रेवन्तविक्रम थापाको रहनेछ । करण साउद कला निर्देशक रहेको फिल्ममा सन्तोष मल्ल मुख्य सहायक निर्देशक रहँदा ध्रुब कार्की, अम्विका नेपाली र सञ्जय भाल सहायक निर्देशकमा छन् । सुवाससिंह ठकुरी प्रोडक्सन डिजाइनर छन् । अर्को वर्ष २०८० मा प्रदर्शन लक्ष्य राखिएको फिल्मलाई आर आर फिल्मस् ले वितरणको जिम्माल लिइसकेको छ । ढाका टोपी फिल्मस्, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा यो फिल्म बन्नेछ ।