काठमाडौं । नेपाली बालगायक प्रसुनजंग पोखरेलले थाइल्याण्डमा अन्तर्राष्ट्रिय प्रतियोगिता ‘टिन स्टार इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । ब्राईट फ्यूचर सेकेण्डरी स्कुल, नैकापमा कक्षा ९ मा अध्ययनरत प्रसुनजंगले आगामी साता थाईल्याण्डको बैंककमा हुने प्रतियोगितामा गायन कला प्रस्तुत गर्नेछन् ।
प्रसुन परिवर्तन इभेन्ट हाउसद्वारा १० वर्षदेखि आयोजना हुँदै आएको नृत्य, गायन तथा अभिनयको प्रतिस्प्र्धात्मक कार्यक्रम ‘डीएसए (डान्स, सिङगिङ एन्ड एक्टिङ) सिङगिङ स्टार २०१९’ को विजेता हुन् ।
देशभरका विभिन्न विद्यालयका करिब हजार प्रतिस्पर्धीमध्ये ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गरेका एक सय चार विद्यार्थीलाई पछि पार्दैै ‘डीएसए सिङगिङ स्टारमा गायन विधाको विजयी बनेका १४ वर्षिय प्रसुनले ‘टिन स्टार इन्टरनेसनल’मा ५५ देशका ११ देखि १४ वर्ष उमेर समूहका प्रतिभाका बीच आफुलाई प्रतिस्पर्धामा उतार्नेछन् ।
विद्यालयमा आयोजित कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, चन्द्रागिरि नगरपालिका वडा नं १४ का वडाअध्यक्ष राजभाई महर्जन, विद्यालयका संस्थापक प्रिन्सिपल मोहन कार्कीले शुभकामना दिएका थिए ।
प्रसुनकी आमा विमला पोखरेलले आफूले सधैं सन्तानको रुचि र क्षमतालाई ध्यानमा राखेर पढाईसँगै गायनमा लाग्न पनि सहयोग गर्दै आएको खुलाइन् ।
‘डीएसए सिङगिङ स्टार’का आयोजक संस्था परिवर्तन ईभेन्ट हाउसका निर्देशक राज बराईलीले प्रसुन सन् २०१९ का विजेता भए पनि कोभिड १९ का कारण कार्यक्रम रोकिएकाले अहिले उक्त कार्यक्रमका लागि जान लागेको प्रष्ट्याए ।