काठमाडौं । कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह ‘मौन छ देश’ र दुई गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कवि उमा श्रेष्ठकी आमा दिलमाया श्रेष्ठको सभापतित्व एवं कवि तथा गीतकार चूडामणि देवकोटाको प्रमुख आतिथ्यतामा यी कृतिहरु सार्वजनिक गरिएको हो ।
ब्राइड एकेडेमी एण्ड मिडिया प्रा.लि.को आयोजनामा भएको कविता संग्रहको समीक्षा गर्दै डा.शैलेन्दुप्रकाश नेपालले नारी समवेदना, देशप्रेम र मायाप्रेमलाई शब्दशील्पमार्फत् कवितासंग्रह तयार भएको बताए ।
गीतकार उमा श्रेष्ठले कविता लेखन र गीत संगीतको यात्रामा आफ्नो प्रारम्भ भएको बताउँदै कविता संग्रह र गीत निर्माणका अनुभवहरु सुनाइन् । गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाले गीतकार उमा श्रेष्ठका सिर्जना अब्बल रहेको बताउँदै गायन र संगीत सिर्जनामा पनि उनको यात्रा सफल हुने दाबी गरे ।
गीतकार चूडामणि देवकोटाले गीतकार उमा श्रेष्ठलाई बधाई दिँदै अमर यात्राको बाटो रोजेकोमा शुभकामना दिए ।
सार्वजनिक दुई गीतमध्ये तीज गीत ‘नाचौं छमछमी’मा गायिका उमा श्रेष्ठ र गायक सुमित खड्काको स्वर रहेको छ । गीतको शब्द संगीत विपिन आचार्यको रहेको छ । त्यस्तै ‘ए माया लाउँछौ कि’मा शब्द संगीत र स्वर उमा श्रेष्ठको रहेको छ भने सुमित खड्काले स्वरमा साथ दिएका छन् । गीतको भिडियोलाई उमा श्रेष्ठको अफिसियल युट्युबबाट सार्वजनिक गरिएको छ ।





