विकास बोर्डमा ओल्ड इज गोल्ड सुरु

काठमाडौं । नेपालको पहिलो नेपाली फिल्म ‘आमा’का चार कलाकारको उपस्थितिमा चलचित्र विकास बोर्डले ‘ओल्ड इज गोल्ड’ कार्यक्रम सुरु गरेको छ। फिल्मका कलाकार भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठको उपस्थितिमा आयोजित शुक्रबारबाट कार्यक्रम सुरु गरिएको हो ।

कार्यक्रमको सुरुवातमा हरिबंश आचार्य र चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष कृष्ण मल्लले चारै कलाकारलाई माला लगाएर स्वागत गरेका थिए । त्यसपछि भुवन चन्द, चैत्यदेवी सिंह, वसुन्धरा भुसाल र विमला श्रेष्ठले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे।

बोर्ड अध्यक्ष दिनेश डीसीले कार्यक्रमको सहजीकरण गरेका थिए। फिल्म प्रदर्शनअघि उनले चारै कलाकारसँग ‘आमा’ निर्माण र प्रदर्शनताकाका अनुभव तथा नेपाली फिल्मको प्रारम्भिक कालसँग जोडिएका स्मरणबारे संवाद गरे।

कलाकारहरूले ‘आमा’मा काम गर्दाको समय, त्यतिबेलाको फिल्म निर्माण प्रक्रिया र नेपाली फिल्मको सुरुवाती यात्राका अनुभव दर्शकमाझ सुनाएका थिए। त्यसपछि उनीहरूकै उपस्थितिमा ‘आमा’ प्रदर्शन गरिएको थियो।

दशकौँअघि आफूले अभिनय गरेको फिल्म पुनः ठूलो पर्दामा हेर्न चारै कलाकार उपस्थित हुँदा कार्यक्रम भावनात्मक बनेको थियो। अर्कोतर्फ, पुरानो नेपाली फिल्म हेर्न नयाँ पुस्तासहित ठूलो संख्यामा दर्शक पुगेका थिए।

कार्यक्रममा अध्यक्ष डीसीले अब हरेक महिना एउटा ऐतिहासिक नेपाली फिल्मको हलमा विशेष प्रदर्शन गर्ने घोषणा गरे । उनका अनुसार यस्तो विशेष प्रदर्शनबाट संकलन हुने रकम चलचित्रकर्मी कल्याणकारी कोषमा जम्मा गरिनेछ ।