इन्फा अवार्डमा कसले गाउने, कसले नाँच्ने ?

काठमाडौं । इन्टरनेशनल नेपाली फिल्म अवार्ड्स (इन्फा अवार्ड–२०२६) को तेस्रो संस्करण नजिकिएसँगै आयोजकले तयारीलाई तीव्र बनाएको छ । आगामी साउन ३० गते शनिवार काठमाडौंको याक एण्ड यति होटलमा आयोजना हुने अवार्डलाई भव्य र अन्तर्राष्ट्रियस्तरको बनाउन आयोजक टोली अहिले अन्तिम तयारीमा जुटेको हो ।

इन्फा इभेन्ट्स यूके तथा इन्फा इभेन्ट्स नेपालको संयुक्त आयोजनामा हुन लागेको तेस्रो संस्करण यसपटक पहिलोपटक नेपालमा आयोजना हुँदैछ । इन्फा अवार्डका पहिलो र दोस्रो संस्करण बेलायतको लण्डनमा सम्पन्न भएका थिए ।

अवार्ड समारोहका लागि स्टेज डेकोरेसन, साउन्ड सिस्टम, लाइटिङ, प्राविधिक व्यवस्थापन, कलाकार तथा अतिथिको स्वागतदेखि कार्यक्रम सञ्चालनसम्मका विभिन्न पक्षको तयारी अघि बढाइएको आयोजकले जनाएको छ ।

यसपटकको इन्फा अवार्डको मुख्य साँझलाई अवार्ड वितरणसँगै विविध सांगीतिक, नृत्य तथा हास्य प्रस्तुतिले विशेष बनाउने तयारीमा आयोजक छन् । आयोजकका अनुसार एलिशा शर्मा, उषा उप्रेती, पल शाह, समर्पण लामा, कविता नेपाली, खुशी कार्की, तेरिया फौजा मगर, दिया मास्केले नृत्य प्रस्तुत गर्दा रिहान गिरी, बाबुल गिरी र झुमा लिम्बुले गीत गाउनेछन् । त्यस्तै कमेडी दरबारको टिमले दर्शक हसाउनेछन् ।

अवार्डका लागि इन्फा यूके लण्डन टिमका अध्यक्ष उमेशराज मोक्तानका साथमा बोर्ड निर्देशकहरु टंक भट्टराई, पाल्देन लामा, आशिषराज पन्त, राज पाण्डे तथा सुष्मा पौडेल काठमाडौं आइसकेका छन् ।