माया भनेकै यस्तो होला टिजरमा प्रेम र विवाहको अन्तरद्वन्द्व

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशन रहेको फिल्म ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक भएको छ । टिजरमा फिल्मको कथा प्रेम’ र ‘विवाह’ बीचको अन्तर र द्वन्द्वलाई केन्द्रमा राखेको छ ।

विपरीतलिंगीप्रतिको आकर्षण, प्रेम, विश्वास, विवाह, बाध्यता र धोकालाई टिजरले प्राथमिकता दिएको छ । टिजर अनुसार अभिनेता दिल श्रेष्ठको जीवनमा दुई युवतीको प्रवेश हुन्छ, नीति शाह र सृष्टि श्रेष्ठ । सुरुवातमा दील र नीतिको प्रेमलाई रोमान्टिक शैलीमा देखाइएको छ । उनीहरू सँगै हाँसेका, रमाएका र भविष्यको सपना बुनेका दृश्यहरू छन् । तर, कथामा यस्तो मोड आउँछ जहाँ दिल श्रेष्ठ विवाहको मण्डपमा त पुग्छन्, तर उनको अगाडि उनले चाहेकी प्रेमिका हुन्नन् ।

टिजरमा नीतिलाई चञ्चल र प्रेमिल अवतारमा देखाइएको छ । सृष्टि श्रेष्ठको भूमिका केही गम्भीर र रहस्यमय देखिएको छ । अर्की अभिनेत्री नम्रता श्रेष्ठको उपस्थितिले पनि कथामा नयाँ आयाम थपेको छ ।

निर्देशक रेखा थापाले यसअघिका फिल्ममा ‘एक्सन’ र ‘नारी शक्ति’लाई बढी प्राथमिकता दिने गरे पनि यस पटक उनले ‘इमोसनल ड्रामा’लाई रोजेकी छिन् ।सुदीप बरालको सिनेमाटोग्राफीले हरेक दृश्यलाई जीवन्त बनाउने प्रयास गरेको छ । फिल्म भदौ २६ गते रिलिज हुँदैछ ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिकामा छन् । लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायतको पनि अभिनय रहेको छ ।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रमा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् ।